एजेन्सी : अमेरिकाले ६ करोड डोज कोरोना खोप अरू देशलाई बाँड्ने घोषणा गरेको छ । खाद्य तथा औषधि नियामक निकायले सुरक्षा मूल्याङन गरेपछि आस्ट्राजेनेकाको कोरोना खोप अरू देशलाई बाँड्ने घोषणा अमेरिकाले गरेको हो ।
ह्वाइटहाउसको विज्ञप्तिअनुसार करिब ६ करोड मात्राको खोप केही महिनाभित्र अमेरिकाले निर्यात गर्न सक्नेछ । विश्वभरि आस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको भएपनि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले सो खोपलाई अझै स्वीकृति दिएको छैन ।
अमेरिकाले खोप थुपारेको आलोचनाका माझ सो निर्णय भएको बीबीसीले जनाएको छ । जबकी राष्ट्रपति बाइेडनका प्रमुख मेडिकल सल्लाहकारले अमेरिकाले आस्ट्राजेनेका खोप प्रयोग गर्ने निश्चित् नभएको बताएका थिए । छिमेकी क्यानडा र मेक्सिको तथा अन्य दर्जनौँ देशहरूले अमेरिकी आपूर्तिमा पहुँचको अनुरोध गरिरहेका छन् ।
गत महिना राष्ट्रपति बाइडेनले मेक्सिको तथा क्यानडालाई ४० लाख मात्रा आस्ट्राजेनेका खोप दिने वाचा गरेका थिए । ती दुवै देशले आस्ट्राजेनेकाको प्रयोगलाई अनुमति दिएका छन् ।







