छ हजार ऋणको व्याजमा श्रम संगै यौन शोषण

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्ष देखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ । छिमेकी ६८ वर्षीय खड्ग बहादुर राईले रु.६ हजार ऋण दिएपछि बारम्बार श्रम संगै यौन शोषण गर्ने गरेको पीडित महिलाको भनाई छ ।

शनिबार सल्लेरीमा पत्रकार संगको भेटका क्रममा ती महिलाले आफु अन्यायमा परेकाले न्याय माग्न सदरमुकाम आईपुगेको बताइन् । आर्थिक अवस्था कम्जोर भएकाले २०७३ साल असार २ गते खड्गबहादुर राई बाट ऋण लिएको पीडित महिलाको भनाई छ । “ऋण लिएको चार दिन असार ४ गते देखि मलाई उहाँको घरमा बारम्बार काम गर्न बोलाउन थाल्यो ।” भावुक हुँदै पीडित महिलाले भनिन्, “आर्थिक अवस्था कम्जोर भएका कारण उसले जे भन्यो त्यही मान्न बाध्य भए ।”

घरायसी काम संगै ३–४ दिनको अन्तरमा आफुमाथि जबरजस्ती शारीरिक सम्पर्क राख्ने गरेको उनको भनाई छ । “ऋणको व्याज स्वरुप काम गर्नुपर्ने ।” महिलाले भनिन्, “दिनभरि कामको थकान संगै उसलाई यौन चहाना भए जुनैबेला पनि आफु तयार हुनुपर्ने मेरो बाध्यता थियो ।”

आफुले शारीरिक सम्पर्क राख्ने इच्छा छैन भन्दा ज्यान मार्ने सम्मको धम्की दिएपछि स्वीकार गर्नुको विकल्प नभएको उनको भनाई छ । गाउँघरमा जो कोहीलाई धाकधम्की दिएर खड्गबहादुरले श्रम शोषण गर्ने गरेको पीडित महिलाको आरोप छ । तर आरोपित राईले भने आफुले त्यस्तो कुनैपनि हालतमा नगरेको बताए ।

यौन प्यास मेटाउन पीडितकै घरमा पुग्थे खड्गबहादुर
खड्गबहादुरले घाँस काट्न, धान र कोदो रोप्न देखि खन्य आवश्यक परेको बेला जुनसुकै काम गर्न पनि आफुलाई बोलाउने गरेको महिलाको भनाई छ । “सूरुमा काम गर्न आउनु मलाई व्याज चाहिदैन भन्नुभयो ।” महिलाले सुनाईन्, “केही समय पछि साँवा व्याजको हिसाब गरौ भन्दा पनि पछि हिसाब गरौला किन अहिले गर्नु भन्दै काम लगाईरहे, मैले पनि मानिरहे ।”

श्रम शोषण गरिरहेका आरोपित राईले २०७५ साल देखि भने निरन्तर यौन शोषण समेत गर्ने गरेको पीडित महिलाको भनाई छ । पीडित महिलाको ७० वर्षीय श्रीमान गोठमा भएको मौकामा घर आउने र यौन प्यास मेटाउने गरेको महिलाको गुनासो छ । रातको १२ बजे तीर आफ्नो घरमा आउने र कोही कसैलाई भनेको खण्डमा ज्यान मार्ने धम्की समेत दिने गरेको पीडित महिलाको भनाई छ ।

खड्गबहादुरको व्यवहारको विषयमा पीडितको पतिलाई जानकारी भएपछि काम गर्न नजाने निधोमा पुगीकी महिलालाई तत्काल ऋण फिर्ता गर्न आरोपीतले ताकेता गरेको बताइन्छ । तर आफुहरु संग फिर्ता गर्ने रकम नहुँदा बाध्य भएर अह्राएको काम गर्नुपरेको महिलाको गुनासो छ ।

पीडित महिला बीचको सम्बन्धका बारेमा खड्ग बहादुरको घरपरिवारलाई जानकारी भएपछि छोराहरु समेतले गत माघ २८ गते महिलाको घरमा पुगेर ज्यान मार्ने धम्की दिएको आरोप छ । घर घेर्नपुगेपछि पति र घरपरिवार सहित छिमेकीलाई समेत घटनाको बारेमा जानकारी गराएको महिलाको भनाई छ ।

महिला सञ्जालको सहयोगमा प्रहरीमा जाहेरी दर्ता
सामान्य विवाद हुँदा समेत छिमेकी सबैलाई धाकधम्की दिने खड्गबहादुर देखि गाउँले सबै डराउने गरेको उनीहरुको भनाई छ । आफुहरुपनि असुरक्षीत हुने त्रासका कारण गाउँका महिला अगुवाको साथमा घटनाको विषयमा उजुरी गर्न सल्लेरी आएको पीडित महिलाले बताइन् । जिल्लामा क्रियाशिल अन्तरपार्टी महिला सञ्जालको सहयोगमा फागुन १७ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरिएको पीडित पक्षको भनाई छ ।

प्रहरीले आवश्यक अनुशन्धानको लागि सोही दिन खड्गबहादुरलाई पक्राउ गरि कार्वाही प्रक्रिया अगाडी बढाएको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । प्रहरीको अनुशन्धान पछि जिल्ला अदालत सोलुखुम्बुमा मुद्दा बुझाइएकोमा चैत ११ गते न्यायधिस महेन्द्रराज काफ्लेको इजलासले आरोपितलाई रु.१ लाख २० हजार धरौटी माग गर्ने आदेश दिएको छ ।

यता पीडित पक्षलेभने आफुहरुलाई अदालतमा बयानका लागि नबोलाएको गुनासो गरेका छन् । पीडक पक्षको मात्रै बयानको आधारमा धारौटीमा रिहा भएपछि न्याय नपाउने संका आफुहरुमा रहेको पीडित महिलाको भनाई छ ।

अब झनै ज्यान जोखीममा परेकाले गाउँ फर्कन नसक्ने पीडित परिवारको गुनासो छ । पति संगै आफु सल्लेरीमा आफन्तकोमा बसीरहेको र ७ जना छोराछोरी गाउँमै छिमेकीको घरमा बसेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार