काठमाडौं : नेकपा प्रचण्ड–माधव नेपाल निकट अनेरास्ववियूले प्रधानमन्त्री केपी ओलीको पुतला बनाएर जुत्ताले प्रहार गरेका छन्।

सोमबार दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि भेला भएका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई ‘प्रतिगमन’को प्रतीक भन्दै उनको पुतला बनाएर जुत्ता हानेका हुन् ।
अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले प्रतिगमन गर्ने सबै मान्छेहरु जनताले लगाइराखेका जुत्ता हान्न लायक छन् भनि साङ्केतिक रुपमा जुत्ता हान्ने कार्यक्रम गरेको बताउनुभयो । तामाङले प्रतिगमन कुनै मूल्यमा पनि नस्वीकार्ने बताउनुभयो । संविधानको पालना, कानूनको पालना र जनमतको सम्मान गर्न प्रतिगमनका मतियारले आफ्नो पदबाट राजीनामा दिनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा उपस्थित विद्यार्थीहरुले ‘प्रतिगमन मुर्दावाद’, ‘प्रतिगामी केपी ओली मुर्दावाद’, ‘असंवैधानिक कु खारेज गर’, ‘प्रतिगामीहरु होसियार’ लगायतका नाराबाजी समेत गरेका थिए ।








