काठमाडौं: चीनले पहिलो चरणमा नेपाललाई कोभिड– १९ विरुद्धको तीन लाख डोज खोप अनुदानमा दिने भएको छ । नेपाल सरकारको अनुरोधमा तीन लाख डोज खोप अनुदान सहयोगमा उपलब्ध गराउने निर्णय भएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । चीनले उपलब्ध गराउने खोप चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको हो ।
दुई चरणमा लगाएपछि कोभिडविरुद्ध यो खोपले करिब ७९ दशमलव ३४ प्रतिशत प्रभावकारिता देखाएको चिनियाँ दूतावासले जनाएको छ । अहिलेसम्म दुई करोड ४० लाख डोज खोप प्रयोगमा आइसकेको दूतावासले जानकारी दिएको छ । चीनले दिएका खोप करिब एक लाख ५० हजार जनालाई लगाउन पुग्ने बताइएको छ ।
चीन र अन्य मुलुकहरूमा खोपको माग व्यापक बढिरहेका वेला नेपाललाई प्राथमिकतामा राखेर खोप उपलब्ध गराउने निर्णय भएको चिनियाँ दूतावासको भनाइ छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेको चिनियाँ खोपले पाकिस्तान, युएई, इजिप्ट, हंगेरीलगायत १३ देशमा आपत्कालीन प्रयोगका लागि मान्यता पाएको छ ।







