काठमाडौं: आगामी माघ १४ गतेदेखि नेपालमा पनि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु हुने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप अभियान माघ १४ गते बिहान १० बजे शुभारम्भ गरिने जानकारीदिनु भएको हो ।
उहाँले आइतबारको पत्रकार सम्मेलनमा बोल्दै खोप लगाउने पहिलो प्राथमिकतामा परेका फ्रन्टलाइनरलाई खोप लगाएर खोप अभियानको शुभारम्भ गर्ने बताउनु भयो । कोभिड–१९ विरुद्धको खोप अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने उहाँले बताउनु भयो । मन्त्री त्रिपाठीका अनुसार उक्त खोप अभियान सातवटै प्रदेशका अस्पताल तथा काठमाडौंमा रहेका प्रमुख अस्पतालहरुमा भर्चुअल विधिबाट एकैसाथ शुभारम्भ हुनेछ। माग १४ गते सातै प्रदेशभित्रका ६२ वटा अस्पतालहरुमा र १२० भन्दा बढी खोप केन्द्रहरुबाट कोरोना विरुद्धको खोप अभियान सुभारम्भ हुने मन्त्री त्रिपाठीको भनाइ छ।
उहाँका अनुसार १८ गतेभित्र देशका ७७ वटै जिल्लाका ३०० वटा खोप केन्द्र मार्फत खोप अभियान संचालन हुनेछ। पहिलो चरणको खोप अभियान १० दिनभित्र सम्पन्न हुने र पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य रहेको मन्त्री त्रिपाठीले जानकारी दिनु भयो ।
मन्त्री त्रिपाठीले नेपाललाई प्राप्त भएको खोप अक्स्फोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनिका नामक औषधि उत्पादकले संयुक्त रुपमा विकास गरेको र भारतमा रहेको सेरम इन्टिच्युटले उत्पादन गरेको जानकारी दिँदै उक्त खोपको तेस्रो चरणको ट्रायल पनि भइसकेको बताउनु भयो । उहाँले उक्त खोप निर्धक्क भएर लगाउन सबैलाई आग्रह समेत गर्नु भयो।
मन्त्री त्रिपाठीका अनुसार संघ, प्रदेश र स्थानीय तहमा सबै प्रकारका स्वास्थ्य संस्थाहरुमा कार्यरत कोभिड–१९ मा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शब वाहन चालक, कोभिडको संक्रमबाट मृत्यु भएका शवहरुको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीहरुले पहिलो चरणमा खोप पाउनेछन्।
मन्त्री त्रिपाठीले लक्षित समुहलाई मात्र खोप उपलब्ध गराउन सम्बन्धित संस्थाले खोप लगाएका व्यक्तिको सूची तयार गरी सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको पनि जानकारी दिनु भयो । सातै प्रदेशमा खोप अभियान संचालनका लागि टेकुस्थित राष्ट्रिय खोप भण्डारण केन्द्रबाट सातै प्रदेशका खोप भण्डारण केन्द्रमा आवश्यक खोप आइतबार पठाइएको छ। मन्त्री त्रिपाठीले खोप अभियानको पहिलो चरण सम्पन्न हुनुअघि नै थप खोप पनि आइसक्ने समेत जानकारी दिनु भयो ।







