काठमाडौं: नेपाललाई भारतले अनुदानमा दिएको कोरोना महामारीविरुद्धको खोप आज काठमाडौं आइपुगेको छ । भारत सरकारले नेपाली जनतलाई उक्त भ्याक्सिन उपहार दिएका हुन् ।
अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिएको हो । यही माघ २ गते औषधि व्यवस्था विभागले कोभिसिल्डलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाललाई कोरोनाविरूद्धको १० लाख डोज खोप दिने घोषणा भारतले गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्रा सहभागी पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । भारतबाट ल्याइएका खोपलाई स्वास्थ्य सेवा विभाग टेकुमा भण्डारण गरेर केही दिनमै लगाउन थालिने मन्त्रालयको तयारी छ ।
सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक लगायत कोरोनाविरुद्धको अभियानमा खटिएकालाई खोप दिने भएको छ । पहिलो चरणको खोप अभियान सकिएपछि अरू जनतालाई खोप लगाउने छन् ।







