काठमाडौं : आन्दोलनरत संयुक्त स्वास्थ्य संघर्ष समितिले उठाएका अधिकांश माग पूरा गर्न सरकार सहमत भएको छ । पटक–पटकको वार्तापछि समिति र मन्त्रालयबीच १९ बुँदे सम्झौता भएको हो ।
सम्झौता अनुसार स्वास्थ्यकर्मीलाई कोभिड लगायत अन्य जटिल रोगको उपचारसहित सेवा सुविधा बढाउन सरकार सहमत भएको छ । सबै स्वास्थ्यकर्मी तथा सहयोगीहरुलाई जोखिम भत्ता, यातायात, संचार र खाजा खर्च दिन सम्बन्धित कार्यालयले आवश्यक ब्यवस्था मिलाउने सहमतिमा उल्लेख छ ।
जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ ले नसमेटिएका स्वास्थ्य संस्थाहरुमा नियमित हाजिर भै कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने सहमति भएको छ । कोरोनाको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धि कार्यमा सम्लग्न जनशक्तिहरूलाई मृत्य पश्चात दिइने २५ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति सहज रुपले दिने व्यबस्था मिलाउने सहमति पनि भएको छ ।







