काठमाडौं : भारतले कोरोना भाइरसविरूद्धको खोप केही महिनासम्म निर्यात नगर्ने भएको छ । अक्सफोर्ड र अष्ट्राजेन्काले बनाएको खोप उत्पादन गर्ने अनुमति पाएको सेरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुखले अझै केही महिना खोप भारतबाहिर नपठाउने बताएका छन् । सेरम संसारकै ठूलो खोप उत्पादक कम्पनी हो ।
उसले गरिब मुलुकका लागि १ अर्ब डोज खोप उत्पादन गर्ने सम्झौता गरेको छ । सेरमले खोप तत्काल निजी बजारलाई पनि नबेच्ने बताएको छ । भारत सरकारको यो निर्णयले गरिब मुलुकहरूलाई खोप दिलाउने विश्व स्वास्थ्य संगठनको कार्यक्रम कोभ्याक्सलाई असर पर्ने भएको छ ।







