एजेन्सी: अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाउनु भएको छ । बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाउनु भएको हो ।
उहाँले खोप लगाएको टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियो । खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्न सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताउनु भएको छ । यसअघि उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले खोप लगाएका थिए ।
उनीहरुले पनि सर्वसाधारणमा रहेको शंका दूर गर्न सार्वजनिक रुपमा खोप लगाएको बताएका छन् । बाइडेनले खोपलाई लिएर चिन्ता गर्नु पर्ने कुनै कारण नभएको बताउनु भएको छ । देशमा खोप अभियान सुरु गरेकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई धन्यवाद दिनुपर्ने पनि बाइडेनले बताउनु भयो ।
बाइडेनकी श्रीमती डाक्टर जिल बाइडेनले पनि खोपको पहिलो डोज लिनु भएको छ् । उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका पति डग एमहोफले आउँदो हप्ता खोपको पहिलो डोज लिने तयारी छ । बाइडेनको टिमले सत्ता सम्हालेको पहिलो सय दिनमा १० करोड अमेरिकीलाई खोप लगाउने योजना बनाएको छ ।







