सोलुखुम्बु : सरकारको निर्णयविपरीत कोरोना संक्रमितको उपचार बापत कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल एन्ड रिसर्च सेन्टरले लाखौ रकम लिएको बिरामीका आफन्तले गुनासो गरेका छन् । सोलुदुधकुण्ड नगरपालिका निवासी ६४ वर्षीया हम्पुली (हम्बु) तामाङबाट उक्त अस्पताले उपचार शुल्क भन्दै रु.५ लाख ३८ हजार ५८५ रुपैया लिएको उहाँका छोरा पिटी लोप्चनले गुनासो गर्नुभयो ।
यस्तै संक्रमितको उपचारबापत सरकारले दिने अनुदान रकम लिनको लागि अस्पतालले त्यही बिल स्वास्थ्य मन्त्रालयमा समेत पेस गरेको पाईएको लोप्चनले बताउँनुभयो । सोही कारण मंसिर २६ गते अस्पताल विरुद्ध प्रमाण सहित स्वास्थ्य मन्त्रालयमा उजुरी दिएको उहाँको भनाई छ ।

स्वास्थ्यमा समस्या आएपछि मंसिर ६ गते अस्पताल भर्ना हुनुभएकी हम्बु १८ दिनपछि मंसिर २४ गते डिस्चार्ज हुनुभएको थियो । “मेरो आमा ३० वर्ष देखि एकल महिलाको रुपमा जीवन बिताईरहनुभएको छ ।” लोप्चनले भन्नुभयो, “सरकारले गत असोज १९ मा जारी गरेको कोरोना उपचारबापत अस्पतालहरूलाई अनुदान उपलब्ध गराउनेसम्बन्धी (दोस्रो संशोधन) आदेश २०७७ विपरित अस्पतालले रकम असुल्न भ्यायो ।”
कोरोना उपचारबापत अस्पतालहरूलाई अनुदान उपलब्ध गराउनेसम्बन्धी (दोस्रो संशोधन) आदेश २०७७ मा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपांगता भएका, ज्येष्ठ नागरिक र अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीको उपचार निःशुल्क गर्ने व्यवस्था छ । कान्तिपुर कोरोना अस्पतालका रूपमा पनि सूचीकृत छ । यस्ता अस्पतालले संक्रमितको उपचारबापत कुनैपनि शुल्क लिन नपाउने व्यवस्था छ ।
संक्रमितको उपचारमा लागेको खर्च सरकारले अनुदानबापत अस्पताललाई उपलब्ध गराउने व्यवस्था भएपनि त्यसलाई लत्याउँदै सोझासिधा नागरिक ठग्ने धन्दामा लाग्नु दुखद भएको लोप्चनको भनाई छ ।
“मन्त्रालयले गरेको निर्णयको बारेमा जानकारी गराउँदा समेत त्यसको कुनै वास्ता नगरि लाखौ रकम असुलेपछि प्रमाणसति मंसिर २६ मा उजुरी दिए ।” लोप्चनले भन्नुभयो, “औषधिको नाममा मात्रै एक लाख भन्दा बढीको बिल उठाएको छ, तर मेरो आमालाइ के कस्तो औषधी चलायो हामीले चाही देखेनौ ।”
डिस्चार्ज भएर आउँदा चिकित्सकहरूले अस्पतालमा चलाएका सात प्रकारका औषधि दिएको उहाँको भनाई छ । तर ती औषधीको मूल्य एक पत्ताको रु.८० सम्म मात्र पर्ने भएपनि एक लाखको बिल उठाएको उहाँको दावी छ ।
अस्पतालले गरेको पिसिआर रिपोर्ट समेत संकास्पद भएकाले छानबिन हुनुपर्ने लोप्चनको माग छ । कानुनीरुपमा अगाडी बढ्ने बताएपछि अस्पतालले बन्दकोठमा राखेर आफुलाई प्रभावीत पार्न खोजेको उहाँको भनाई छ ।
लोप्चनको उजुरीमाथि कार्वाही गर्दै मन्त्रालयले हम्बुको पिसिआर परीक्षण गरिएको मिति, पोजिटिभ–नेगेटिभ आएको मिति, बिरामीले तिरेको रकम र ती बिरामीको उपचार गरेबापत अस्पतालले मन्त्रालयसँग अनुदान माग गरे–नगरेको विवरण २४ घण्टा भित्र पेश गर्न भनेको छ ।
अस्पतालका म्यानेजर डा. समीर मैनालीले भने अतिरिक्त सेवा बापतको शुल्क लिएको बताउँनुभयो । उहाँले कोरोना उपचारबापतको कुनैपनि शुल्क नलिई अतिरिक्त शुल्क लिन पाउने राज्यको नीति अनुसारनै लिएको भन्दै आफुहरुको कम्जोरी नरहेको दावी गर्नुभयो ।
अतिरिक्त शुल्क लिने विषयमा विरामी भर्ना गर्नुपुर्वनै हप्ताक्षर गराउने गरेको उहाँको भनाई छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले अस्पतालको विरुद्धमा उजुरी परेको भन्दै त्यस्तो किन के कसरी भएको भन्ने बारेमा बुझ्नेक्रममा रहेको बताउँनुभयो । उहाँले नेपाल सरकार संग सम्झौता गरेका अस्पतालले शुल्क लिन नपाउने व्यवस्था भएकाले के कसरी त्यस्तो भएको हो भन्ने विषयमा अस्पतालले प्रष्ट पार्नुपर्ने बताउँनुभयो ।







