एजेन्सी: अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि जबरजस्ती बाध्य नपारिने बताएका छन् । खोप उपलब्ध भएपछि सबैलाई व्यक्तिगत इच्छाका आधारमा खोप लगाउने सम्बन्धमा निर्णय गर्ने अधिकार हुने बाइडेनले बताएका हुन् ।
खोपका लागि सबैलाई जागरुक बनाउने प्रयास गर्ने तर कुन बेला खोप लगाउने भन्ने निर्णय व्यक्तिमै भरपर्ने उनको भनाई छ । यसअघि सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले पहिलोपटक घरभित्रै रहँदा पनि मास्कको प्रयोग गर्न सुझाव दिएको थियो ।
अमेरिकामा संक्रमितको संख्या एक करोड ४७ लाख नाघेको छ भने दुई लाख ८५ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा दुई लाख ३५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । हालै भएको एक अध्ययन अनुसार मात्रै ६० प्रतिशत अमेरिकी कोरोना भाइरसविरुद्धको खोप लगाउन तयार रहेका छन् ।







