काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४३ जना कोरोना संक्रमितपुष्टि भएका छन्। योसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार १ सय ११ जना संक्रमणमुक्त भएका छन्।
योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ। आज देशभर १५ हजार ७ सय ६६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा देशभर १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
अहिलेसम्म १ हजार ५ सय ५१ जना संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा ९ हजार २ सय ८९जनाको पिसिआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५० महिला र ३११ पुरुष गरी ५६१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १० हजार ९४० जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४५५ , ललितपुरमा २६ र भक्तपुरमा ८० जनालाई कोरोना संक्रमण देखिएको छ।







