काठमाडौं: कोभिड संक्रमणको जोखिमका कारण यसपटकको दशैंमा हाँसको व्यापारमा पनि असर परेको छ । विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका छन् । विगतमा भन्दा मूल्य पनि बढेको र कोरोना संक्रमणको जोखिमका कारण ग्राहकहरु नआएकाले व्यापार कम भएको व्यापारीहरुले बताए ।
विरगंज देखि काठमाडौंको सुन्धारामा हाँस विक्रीका लागि आउनुभएका बुखल साहले हाँसको व्यापार यसपटक कम भएको बताउनुभयो । गत वर्ष १ सय ५० भन्दा बढी हाँस विक्री गर्नुभएका साहले यसपटक २०÷२५ वटा सम्म पनि विक्री गर्न नसकेको बताउनुभयो । हाँस नै विक्री गर्न नसकेपछि दशैं मनाउन समेत समस्या हुने उहाँको भनाई छ ।
आफुले ल्याएका सबै हाँस कम मूल्यमा विक्री गरेर भएपनि दशैं मनाउन विरगंज फर्किनुपर्ने बाध्यता भएको पनि साहले सुनाउनुभयो । यस वर्ष हाँसको मूल्यपनि बढेको छ । गत वर्ष एउटा हाँसको मूल्य ८ सय देखि एक हजार रुपैयाँ सम्म रहेको थियो । तर यसवर्ष एउटा हाँसको मूल्य १ हजार ३ सय रुपैयाँ भन्दा माथि छ ।
त्यसैले पनि हाँस विक्री नभएको हुनसक्छ । यस्तै काठमाडौं उपत्यकामा दशैंमा पूजा गर्दा वा मन्दिरमा चढाउन हाँसको खोज्ने प्रचलन रहेको छ । त्यसैले पनि दशैंको बेलामा हाँसको बजार पनि राम्रै हुने गर्छ । तर यसपटक अधिकांश मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएकाले पनि पशुपछिंहरुको व्यापार कम भएको छ ।