काठमाडौँ – अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग तीन दिनदेखि अवरूद्ध भएको छ । शुक्रबार रातिदेखि राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन बीच बाटोमा रोकिएका छन् ।
पाल्पाको डुम्रेदेखि सिद्धबाबा सडकखण्डअन्तर्गत आधा दर्जनभन्दा बढी ठाउँमा पहिरो खसेको छ । शनिबार दिनभर स्काभेटर र डोजर प्रयोग गरी पहिरो पन्छाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भए पनि सम्भव नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले बताउनुभयो ।
पहिरोसँगै झरेका ठूला ढुंगा फोर्न तत्काल सम्भव नभएको उहाँको भनाइ छ । ठूलाठूला चट्टानसहित सडकमाथिबाट पहिरो खसेको छ । सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको छ ।
आइतबार बिहानदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिनुभयो । राजमार्ग पूर्णरूपमा अवरुद्ध भएकाले नजिकको प्रहरी वा सम्बन्धित कार्यालयमा बुझेर मात्र यात्रा गर्न भट्टराईले आग्रह गर्नुभयो ।