काठमाडौं : कोरोना संक्रमणबाट नेपालमा थप सातजनाको मृत्यु भएको छ । बारा दुई तथा ललितपुर, काभ्रे, बाँके, मोरङ र कैलालीमा एक–एक गरी जम्मा ७ जनाको मृत्यु भएको हो । पर्सास्थित नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचार गराइरहेका बाराका थप दुई जना कोरोना संक्रमितको गएराति मृत्यु बताइएको छ ।
मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ का ७० वर्षीय वृद्ध र बाराकै विश्रामपुर गाउँपालिका वडा नम्बर १ छतवाका ४२ वर्षीय पुरुष रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले बताउनुभयो ।
यस्तै, ललितपुरको पाटन अस्पतालमा ५४ वर्षीय पुरुष, बाँकेको नेपालगञ्जमा ३७ वर्षीय पुरुष र मोरङको विराट मेडिकल कलेजमा ४४ वर्षीय महिलाको मृत्यु भएको हो । पाटन अस्पतालमा काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । उनी गत साउन २३ गतेदेखि उपचाररत थिए । यस्तै, विराटनगर महानगरपालिका वडा नम्बर ११ बस्दै आएकी ४४ वर्षीय महिलाको पनि गएराति नै मृत्यु भएको हो । मंगलबार बेलुका कोसी अस्पतालमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थियो ।
यस्तै, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षीय पुरुषको गएराति नै मृत्यु भएको छ । यस्तै, धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना भएका कैलालीका ५४ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । यस्तै, काभ्रेको धुलिखेल अस्पतालमा कोरोनाको उपचार गराइरहेका भक्तपुर सुर्यविनायककी ५३ वर्षीया कोरोना संक्रमित महिलाको पनि गएराति नै मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या एक सय ६८ पुगेको छ ।