काठमाडौं: चीनमा कोरोना भाइरसको संक्रमण रोक्ने कार्यमा मास्कको अभाव भएपछि नेपालमा पनि मास्कको अभाव भएको छ । कतिपय व्यापमरीले कालोबजारी गर्न भ्याइसकेका छन । चीनबाट सुरु भएको कोरोना भाइरसको जोखिम विश्वव्यापी फैलिन थालेपछि नेपालमा मास्कको समेत अभाव भएको छ । पहिले १० रुपैया पर्ने मास्क अहिले ३० भन्दा माथि पुगेको छ ।
भाइरस संक्रमणबाट बच्न मास्कको प्रयोग गर्नुपर्ने जनस्वास्थ्य विज्ञले बताइरहेको समयमा मास्कको अभाव देखिएको हो । नेपालमा मास्क उत्पादन गर्ने तीन वटा मात्रै कम्पनी छन्। यी सबै कम्पनीले साधारण पेपर मास्क मात्र उत्पादन गर्छन्। कोरोना भाइरसबाट जोगिन उपयुक्त मानिने एन ९५ मास्कको उत्पादन चीनमा हुन्छ।
चीनबाटै नेपाल आयात गरिँदै आएको एन ९५ मास्क पछिल्ला दिनमा नेपाल भने आएको छैन । मानिसहरुमा रहेको त्रासको फाइदा उठाउँदै मास्क व्यापारीले भने मास्कको मुल्य अत्यधिक रुपमा बढाइरहेका छन । केहीले स्थानीय फार्मेसीका लागि मास्क लुकाएर राखेको छ । मेडिकलहरुमा मास्क पाउन छाडेको र पाए पनि चर्काे मुल्य तिर्न परिरहेको सर्वसाधाणको गुनासो छ ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्कको प्रयोग गर्न,नियमित साबून पानीले हात धुन, पशुपंक्षीजन्य खानेकुरा राम्ररी पकाएर खान चिकित्सकहरुले आग्रह गर्दै आएका छन् । नेपालमा हालसम्म १ जनामा मात्र कोरोना भाइरसको पुष्टि भएको छ । तर चीन लगायतका अन्य देशरुहरूमा संक्रमण झन् झन् बढ्दै गएपछि नेपालमा मास्क मुल्य बृद्धि भएको छ । त्यसैले यस विषयमा सरकारले कालाबजारी हुन नदिन बजार अनुगमन र कारवाहीलाई तीव्रता दिन जरुरी छ ।







