काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। केही दिनअघि चीनको वुहानबाट फर्किएका ३१ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको हो। चीनबाट फर्किएपछि बिरामी भइ शुक्रराज सरुवा रोग अस्पताल टेकु पुगेका उनको रगतको नमूना परीक्षणका लागि हङकङ पठाइएको थियो।
कोरोना भाइरस संक्रमण भएका ती विरामी धनुषाका भएको जानकारी प्राप्त भएको छ। विश्व स्वास्थ्य संगठनको समन्वयमा हङकङ पठाइएको रगतको उक्त नमूना परीक्षणबाट नेपाली युवक कोरोना भाइरसबाट संक्रमित भएको भेटिएको हो।
यसबारेको जानकारी शुक्रवार साँझ स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पत्रकार सम्मेलन गरेर दिएका हुन्। कोरोनाको संक्रमण भएका विरामीलाई अहिले चिकित्सकको उच्च निगरानीमा राखेर उपचार गरिँदैछ। शुक्रवार पनि अन्य तीनजना शंकास्पद बिरामी टेकु अस्पताल पुगेका छन्।
कोरोना भाइरसको संक्रमण रोक्न सरकारले चीनसहितका चार मुलुकबाट आउने पर्यटकलाई उच्च निगरानीमा राख्न थालिसकेको छ। चीनको वुहानबाट पुस अन्तिममा फर्किएका एक नेपाली विद्यार्थीलाई टेकु अस्पतालमा भर्ना गरी चिकित्सकहरूको निगरानीमा राखेका थिए।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखेर उपचार गरिएका उनको रगत परीक्षणका लागि हङकङ पठाइएको थियो।







