के हो कोरोना भाइरस ?

काठमाडौं : कोरोना भाइरस चीनका १३ वटा प्रान्तमा देखिएको छ। यो नयाँ भाइरसका कारण चीनमा हालसम्म नौ जनाको मृत्यु भइसकेको छ। मृत्यु भएका सबै चीनको हुबेई प्रान्तका रहेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ।

विदेशमा हालसम्म जापानमा एउटा घटना प्रमाणित भएको छ भने थाइल्याण्डमा तीन र दक्षिण कोरियामा एक जनामा यो भाइरसको सङ्क्रमण देखिएको छ।
यस्तै  अस्ट्रेलिया, जापान, नेपालसहितका देशमा चीनबाट आउने व्यक्तिहरुमा विमानस्थलमै परीक्षणको व्यवस्था गरिएको छ । कोरोना समूहको नयाँ भाइरसको संक्रमण फैलिएपछि करिष्मा के.सीले कोरोना भाइरस र नेपालमा यसको जोखिमका सम्बन्धमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनसँग कुराकानी गर्नुभएको छ ।

कोरोना भाइरस कस्तो खालको भाईरस हो ?

यो जनावरबाट सर्ने एक प्रकारको भाइरस हो। तर नयाँ भाइरस मानिसबाट मानिसमा सरेको पनि पुष्टि भएको छ चीनमा । अहिले संक्रमण फैलिएको भाइरस कोरोना समूहका अन्य भाइरसहरुसँग नमिल्ने भएकाले यसलाई २०१९ नोभेल कोरोना भाइरस नाम दिइएको छ। यसको बारेमा अहिलेसम्म पनि त्यति स्पष्ट हुन सकेको अवस्था छैन ।

यो भाईरस देखा पर्नुका कारणहरु के हुन् ?

अनुमान गरिए अनुसार जनावरबाट नै नयाँ भाइरसको सुरुवात भएको भनिए पनि यही जनावर भनेर पत्ता लागिसकेको छैन। अरु भाइरसमा यही जनावरबाट सर्छ भनेर भन्ने गरेका छौँ तर यो नयाँ भएकाले भन्न सकिन्न।

यो भाइरसका कारण कस्ता लक्षण देखा पर्छन् ?

कोरोना भाइरसको संक्रमण हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने जस्ता लक्षण देखिन सक्छन्।
यसको लक्षण फ्लूसँग मिल्दोजुल्दो हुने भएकाले रुघाखोकी लागेका व्यक्तिबाट हामी सतर्क हुनु पर्छ।

एकबाट अर्कोको सर्ने सम्भावना कति हुन्छकी हुदैन ?

विश्व स्वास्थ्य संगठनले यसलाई २०१९ नोभेल कोरोना भाइरस नाम दिए पनि यसको बारेमा मानिसहरु अनविज्ञ नै छन्। हामीले पनि एक व्यक्तिबाट अर्कोमा कति चाँडो सर्छ भन्न सक्दैनौँ।
यो सर्छ भनेर आधिकारीक रुपमा भनिएको छ। तर कति छिटो सर्छ वा कस्तो व्यक्तिलाई चाँडो सर्छ भन्ने थाहा भइसकेको छैन।
यो कुन भाइरस हो, कसरी सर्छ, यसले मानिसहरुमा कस्तो असर पार्छ, यसको ‘ओरिजिन’ के हो, रोगको प्रकृति कस्तो हुन्छ, भन्ने सबै कुराहरु पत्ता नलागेका कारण अन्दाजकै भरमा भनिएका छन्। नाम दिइसके पनि यो ‘मिस्टेरीयस्’ रोग हो।

नेपालमा यो भाइरसको जोखिक कत्तिको छ ?

विश्व स्वास्थ्य संगठनले नै संसारभर सतर्कता अपनाउन जरुरी छ भनेको छ। संगठनले नै भनेकाले नेपालले पनि सतर्कता अपनाउन जरुरी छ। धेरै मानिसको आवतजावत हुने भएकाले पनि यहाँ सतर्कता अपनाउन आवश्यक छ।

यसबाट कसरी बच्ने ?

यसको बारेमा धेरै कुरा पत्ता लाग्न बाँकी नै छ। तर पनि प्रत्येक व्यक्ति सजक हुन आवश्यक त छ नै। यसमा म के भन्छु भने यो रोग कुन जनावरबाट सर्छ, अहिलेसम्म पत्ता नलागेका कारण कुनै पनि व्यक्ति धेरै जनावरहरु भएको ठाउँमा नजानु नै उपयुक्त हुन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार