निताको बिहे गर्ने इच्छा

काठमाडौं।पटकपटक प्रेममा धोका खाएकी अभिनेत्री निता ढुंगानाले आफूलाई विवाह गर्न मन लागेको बताएकी छन् । मंसिर महिनामा धेरैको विवाह भएको र अभिनेत्री ऋचा शर्माको पनि यसै साता विवाह भएको बेला अभिनेत्री निताले बेहुली हुन मन लागेको कुरा फेसबुकमा मार्फत जनाएकी छन् ।

अभिनेत्री निताले बुधबार सामाजिक सञ्जाल फेसबुकमा आफू बेहुली भएको तस्बिर पोस्ट गर्दै विवाह गर्न मन लागेको बताएकी हुन् । बेलुहीको भेषमा आफ्नो तस्बिर राख्दै उनले फेसबुकमा लेखेकी छन्, ‘तिम्रो घरमा बेहुली भएर आउन मन छ । तर कसको घरमा आई डन्ट नो’ उनले यसरी बेहुलीको फोटो पोस्ट गर्दा धेरैले उनलाई आमेश भण्डारीकै घरमा बेहुली भएर जान सल्लाह दिएका छन् ।

केहीले विवाह गर्ने उमेर पुगेकाले यसपालिकै साइतमा गतिलो केटा खोजेर विवाह गर्न सल्लाह पनि दिएका छन् ।अभिनेत्री निता पछिल्लो समय निर्देशक उदय सुब्बाको चलचित्र आकासेखेतीको छायांकनमा व्यस्त छिन् । यो चलचित्रको एक दृश्यमा बेहुलीका रूपमा प्रस्तुत भएकी निताले छायांकनको क्रममा खिचिएको त्यही तस्बिर फेसबुकमा राखेर बेहुली हुने चाहना व्यक्त गरेको एक प्राविधिकले बताए ।

अभिनेत्री निता र अभिनेता आमेश भण्डारी केही वर्ष प्रेमसम्बन्धमा रहेका थिए । आफ्नो पछिल्लो प्रेमी आमेशसँग तीन वर्षअघि प्रेम सम्बन्ध तोडेकी यी अभिनेत्रीको त्यसपछि अमेरिकामा बस्ने एक नेपालीसँग प्रेम सम्बन्ध थियो । त्यो प्रेम सम्बन्ध केही समयमै टुट्यो । ती एनआरएनसँग आफ्नो प्रेम सम्बन्ध नरहेको दाबी यी अभिनेत्रीले गर्दै आएकी छन् । अभिनेत्री निताले त्यसपछिको प्रेम सम्बन्धबारे सार्वजनिक गरेकी छैनन् ।

राजधानी दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार