महरा पुर्पक्षका लागि थुनामा, इजालसमा पुगेकी रोशनी बोल्न पाईनन्

काठमाडौं : जवरजस्तीकरणी अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । आईतबार र सोमबारको बहसपछि महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा पठाउँने आदेश दिएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता गरिएको थियो । मुलुकी अपराध संहिता २०७४ अनुसार बलात्कार उद्योगको आरोपमा साढे ३ वर्षदेखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सार्वजनिक ओहोदाको दुरुपयोग गरी अपराध गरेको भन्दै सरकारी वकिल कार्यालयले महरालाई हुने सजायमा डेढ गुणा थप गर्न पनि माग दावी गरेको थियो ।

सोमबार बहस भइरहँदा पीडित भनिएकी रोशनी शाही पनि इजलासमा पुगेकी थिइन् । आफ्ना कुरा राख्न भन्दै इजलासमा प्रवेश गरेकी उनलाई न्यायाधीशले बोल्ने अनुमति भने दिएनन् । महराविरुद्ध बलात्कार आरोप लगाएर प्रहरीमा जाहेरी दिएकी रोशनी शाहीले अदालतमा भने कुरा फेरेकी थिइन् । उनले आफूमाथि महराले बलात्कार प्रयास नगरेको दावी गरेकी थिइन् । प्रहरीको अनुसन्धानका क्रममा महराले डिएनए परीक्षणका लागि रगत दिन मानेका थिएनन् भने ढाँटे नढाँटेको पत्ता लगाउन गरिने पोलिग्राफ परीक्षण गर्न पनि अस्वीकार गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार