काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि एउटा समूहले नेपालगञ्ज बिमानस्थलमा दुव्र्यवहार गरेको छ । नेपालगञ्जबाट काठमाडौं आउन लागेको बुद्ध एयरको जहाज एक घण्टा रोकेको भन्दै विमानभित्रै गालीगलौच र हातपात प्रयाससमेत भएको छ । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीसहितको समूहले मन्त्री भट्टराईलाई शनिबार साँझ बुद्ध एयरको जहाजमा चढेपछि गालीगलौच गर्दै हातपात प्रयास गरेको सामाजिक सञ्जालमा भाईरल बनेको भिडियोमा देख्न सकिन्छ । मन्त्री भट्टराईका कारण एक घण्टासम्म बुद्ध एयरको जहाज रोकिएको भन्दै शाहीसहितको समूह मन्त्रीमाथि जाइ लागेको बताईएको छ ।
साँझ ६ बजेर २५ मिनेटमा उड्नुपर्ने बुद्ध एयरको जहाज ७ बजेर ८ मिनेटमा काठमाडौं उडेको नेपालगञ्ज विमानस्थलले जानकारी दिएको छ । मन्त्री भट्टराई ढिलो गरी आइपुगेर चढेको बुद्धको जहाजमा आफूलाई भ्रष्टाचार विरोधी अभियन्ताका बताउने ज्ञानेन्द्र शाहीसहितका यात्रु पनि थिए । जहाजमा चढेपछि शाही र उनका समर्थकले मन्त्री भट्टराईविरुद्ध नाराबाजी गरेका थिए । प्रहरीकाअनुसार मन्त्रीमाथि हातपात प्रयास र गालीगलौच पनि भएको थियो । उनीहरुले मन्त्री भट्टराई को हो? भन्दै गालीगलौच गरेको प्रहरीले जनाएको छ । मन्त्रीमाथि हातपात प्रयासलाई प्रहरीले रोकेको जनाएको छ । मन्त्री भट्टराई कैलालीको सतीघाटमा आयोजित डल्फिन महोत्सवको उद्घाटन गरेर काठमाडौं फर्किने क्रममा थिए ।
यता मन्त्री भट्टराईले आफ्ना कारण जहाज उड्न केही ढिला भएको स्वीकार गरेका छन् । उनले आफूमाथि नियतवश आक्रमण प्रयास भएको बताएका छन् । उनले आइतबार संसदमा आफूले सांसदहरूका प्रश्नको जवाफ दिने पालो भएकाले दबाबकाबीच काठमाडौं फर्किने प्रयासका क्रममा आफूमाथि दुव्र्यवहार भएको बताएका छन् । बिमानस्थलमा ३÷४ जनाको समुहले पारसविरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुःख दिएको छ ? त्यो हामी कहाँ बिर्सेका छौँ र ? सम् मभनेर गाली गरेको भट्टराईले समाजिक सञ्जाल मार्फत प्रष्ट पारेका छन् । उनले सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद व्यक्त गर्दे यात्रुमा पर्न गएको असुविधाप्रति क्षमा मागेका छन् ।
पढ्नुहोस् मन्त्री भट्टराईको प्रतिक्रियाः आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डल्फीन महोत्सवको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमाडौं फर्किने मेरो योजना रहेको थियो। तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगन्जको अन्तिम उडानबाट काठमाडौं फर्कने क्रममा केहि ढिला हुन गएको सत्य हो। सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो। भोलि प्रतिनिधिसभामा माननीयहरूको प्रश्नको मैले जवाफ दिने कार्यक्रम रहेको कारण काठमाडौं फर्कनै पर्ने दबाबमा म थिएँ। नेपालगञ्ज विमानस्थलमा ३/४ जना व्यक्तिहरू आक्रमक शैलीमा मेरा विरुद्ध प्रस्तुत हुनुभयो। एकजनाले पारसका विरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैँले हामीलाई कति दुःख दिएको छस्। त्यो हामीले कहाँ बिर्सेंका छौँ र? सम्म भने। त्यो सुनेपछि उनीहरूको नियत मैले बुझिहाले। सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु। मेरा कारणले यात्रुहरूमा पर्न गएको असुविधाप्रति भने क्षमाप्राथी छुँ।
https://www.facebook.com/gyanendra.shahi.31/posts/2353477341388425