माध्यमिक शिक्षा परीक्षा ( एसइई) को नतिजा सार्वजनिक

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ( एसइई) को नतिजा सार्वजनिक गरेको छ । बिहीबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेसँगै नतिजा प्रकाशन भएको हाे।

परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार नतिजा सार्वजनिक भइसकेकाले विद्यार्थीहरूले आफ्नो नतिजा हेर्न सक्ने छन् । गत चैत १७ गते देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा ५ लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी भएका थिए ।

बोर्डले पुरानै ग्रेडिङ पद्धतिअनुसार नतिजा सार्वजनिक गरेको छ । विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ ।

नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ । यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो ।

परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसईईमा सहभागी थिए ।

यसरी हेर्न सकिन्छ नतिजा 

राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित एसईई परीक्षाको नतिजा सहजै हेर्ने व्यवस्था गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयाे । यसका लागि विद्यार्थीले वेबसाइड, एसएमएस र आइभिआरबाट हेर्न सकिने बताइएकाे छ ।

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ ।

एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, www.khalti.com, www.neemaacademy.com, www.ekantipur.com,  www.tuteeline.com बाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार