सालुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा ७ दिन देखि जारी जाम/जुस बनाउने तालिम सकिएको छ । वडा कार्यालयको माग निवेदन अनुसार कोभिड–१९ बाट प्रभावित समुदायलाई सीप सिकाइ एवम् जनचेतना कार्यक्रम अन्र्तगत सञ्चालित उक्त तालिम मंगलबार सकिएको हो ।
तालिममा ३५ जना स्थानीय कृषकहरुको सहभागिता रहेको थियो । समापन सत्रमा बोल्दै सहभागी पासाङ तामाङले स्थानीयवासी कृषि उपजबाट उद्यमी बन्न सक्ने आत्मबल बढेको बताउँनुभयो । देउसामा पहिलोपटक तालिम सञ्चालन भएको प्रति खुसी व्यक्त गर्दै उहाँले आवश्यक सहयोगको लागि माग गर्नुभयो ।
यस्तै सहभागी राजकुमारी राईले नयाँ तथा समय सान्दर्भिक तालिम सञ्चालन भएको भन्दै वडा सरकारलाई विशेष धन्यवाद दिनुभयोे । यहाँका स्थानीयवासीले अपेक्षा गरेको भन्दा फरक तर प्रभावकारी तालिम सञ्चालन हुनु देउसावासीको लागि खुसीको कुरा भएको उहाँको भनाई छ ।
नेपाल कृषि प्रधान देश भनिएता पनि यहाँको श्रोत साधनको सदुपयोग हुन नसकेको अवस्थामा यस्ता तालिम कोशेढुंगा सावित हुने अर्का सहभागी नेत कुमार राईले बताउँनुभयो ।
कार्यक्रमलाई संबोधन गर्दै वडा अध्यक्ष भोजराज कार्कीले यस वर्ष आवश्यक प्रक्रिया पुरा गरी सहभागीलाई उद्यमी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । रोजगार सृजनाको लागि उद्यम आवश्यक भएकाले तालिम आयोजना गरिएको भन्दै अध्यक्ष कार्कीले अन्य विभिन्न तालिम आयोजना गरि दक्ष नागरिक तयार गरिने बताउँनुभयो ।
यस्तै सीप प्रदान गरि रोजगार सृजना गर्नको लागि उपकरण सहित अवाश्यक सहयोग गर्ने योजना रहेको भन्दै विगतको दिनमा थुप्रै तालिम सञ्चालन भएकाले यसलाई व्यवहारमा प्रयोग गराउने आफुहरुको योजना रहेको अध्यक्ष कार्कीको भनाई छ ।
यस्तै प्रमुख अतिथिको आषनबाट बोल्दै गाउँपालिका उपाअध्यक्ष सविता राईले रोजगार सृजना गर्ने गरि काम गर्न आग्रह गर्दै आवश्यक सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । सीप बिना कुनैपनि उद्यम तथा रोजगार सृजना नहुनेभएकाले कार्यक्रमा आयोजना गर्ने कार्यालयलाई विशेष धन्यवाद दिनुभयो ।

यस्तै घरेलु तथा उद्योग विकास अधिकृत संगीता राईले वडाको माग अनुसार कार्यक्रम सञ्चालन गरेको भन्दै आगामी दिनमा पनि थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको अवसरमा तालिमका प्रशिक्षक खेतराज कार्की र मनमाया राई सहित घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख सहितलाई वडा कार्यालय र सहभागीले सम्मान समेत गरेका छन् ।








