काठमाडौं : पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले बिरोध प्रदर्शन गरेको छ ।
बुधबार माईतीघरमण्डलामा अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बिरोध प्रदर्शन गरेको हो । बिरोध प्रदर्शनमा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पेट्रोलियम पदार्थमा जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको उल्लेख गर्दै तत्काल फिर्ता लिनुपर्ने बताउनु भयो । उहाँले कोरोना महामारीको बेलामा जनतालाई राहत दिनुपर्नेमा सरकारले बारम्बार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर आहत दिने काम गरेको बताउनु भयो ।
प्रदर्शनमा अखिल क्रान्तिकारीकी केन्द्रिय उपाध्यक्ष शिलु न्यौपानेले सरकारले जनताको भोक, रोग र अभाव नदेखि बारम्बार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्नु दुःखद् भएको बताउनु भयो ।
उहाँले देउवा सरकारले कोरोना महामारीमा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर झनै मारमा पारेको बताउनु भयो । उपाध्यक्ष न्यौपानेले पेट्रोलियम पदार्थमा बारम्बार मूल्यवृद्धि गर्नु लाजमर्दो भएको बताउनु भयो । सरकारले मंगलबार रातिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्यवृद्धि गरेको छ ।







