विपन्न परीवारकाे पीडामा साेलुखुम्बु प्रशासनको साथ

  भोजराज कार्की

सोलुखुम्बु : सगरमाथाको जिल्ला सोलुखुम्बु, हाँसिरहेको कयौँ हिमालको काखमा बसेका नागरिकको भित्रि दुःख र पीडा अनेकौ छन् । जिल्ला बाहिरकालाई लाग्न सक्छ पर्यटकिय जिल्लाका सबै नागरिक हरेक कोणबाट सम्पन्न छन् । तर वास्तवीकता अलिक फरक छ ।

सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाकी शारदा भुजेलको साना–साना छोराछोरी, सबै परिवारको सहारा पति गाउँका युवकको कुटाईबाट अहिले ओछ्यानमा हुनुहुन्छ ।

“कुटपिटबाट घाइते भएपछि अस्पतालमा उपचार गराउँदा अहिले सम्म दश लाख बढी खर्च भईसक्यो ।” शारदाले गहबाट आशु झार्दै भन्नुभयो, “घरबारी पनि बेचिसक्यो, एकदुईवटा भएको बस्तुभाउ पनि सबै बेचे, घरमा केही छैन, साना–साना केटाकेटी, कमाउने मान्छे नै थलामा परेपछि, बिहान ल्यायो बेलुका के खाने ? बेलुका ल्यायो बिहान के खाने भन्ने चिन्ताले सताइरहन्छ ।”

पतिको उपचाका लागि घरबारी देखि बस्तुभाउ समेत बेच्नुभएकी शारदा भुजेल उदाहरण पात्र मात्रै हुन् । उहाँ जस्ता थुप्रैको दैनिकी यसैगरि चलिरहेको छ । सोही समस्यालाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय अन्र्तगतको विपत व्यवस्थापन समितिले सोलुखुम्बु जिल्लामै पहिलोपटक तिङ्लामा न्यानो कपडा र खाद्यन्न वितरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा सोलु दुधकुण्ड नगरपालिका–११ तिङलाका चिसोबाट प्रभावित २५ घर विपन्न परिवारलाई आईतबार एक÷एक वटा फाइबरको कम्बल र ३०/३० केजी चामल सहयोग गरिएको हो ।

प्रशासन कार्यालयको सहयोगले गर्दा दिनभरि ज्यालामजदुरी गरि बिहान बेलुका चुलो बाल्नेहरुको लागि निकै ठुलो राहत मिलेको छत्रबहादुर भुजेलले बताउँनुभयो । घरमा काम गर्ने जनशक्ति नभएको र अन्यत्र गएर काम गर्ने समेत सामथ्र्य नभएको बेला यस्ता सहयोग अतुलनिय हुने उहाँको भनाई छ ।

तीस केजी चालम र फाइबरको कम्बल पाएपछि खुसी हुँदै स्थानीवासी हिरा बिश्वकर्माले चामल किन्ने पैसा बचत भएको भन्दै उक्त रकमले छोराछोरीको पढाइमा खर्च गर्ने बताउँनुहुन्छ ।

गृह मन्त्री बालकृष्ण खाँड र गृह सचिवको समेतको योजना अनुसार विपद कोषबाट खर्च हुने गरि चिसोबाट प्रभावित गरिब तथा विपन्न परिवारलाई सहयोग गर्ने कार्यक्रम राखिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले बताउँनुभयो । अति नै विपन्न भएकै कारण चिसोबाट पीडित भएको पहिचान गरि अन्य स्थानमा समेत उक्त कार्यक्रम गरिने उहाँको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको यो निर्णयले तिङ्लाका विपन्न परिवारलाई केही समय खाद्यन्नको लागि ढुक्क भएको छ भने रात कटाउनको लागि कम्बल सारथी बन्ने भएको छ । सहयोग प्राप्त गरेपछि खुसी हुँदै तिङ्लाका दुर्गाबहादुर बस्नेतले आयोजकलाई धन्यवाद दिदै केही हद सम्म दैनिकीमा सहजता मिल्ने बताउँनुभयो । चिसो रात कटाउन मुस्कील परिरहेका बेला न्यायो कम्बलले परिवारमा समेत खुसी छाउँने उहाँको विश्वास छ ।

“श्रीमतिको मृत्यु भएको र आफ्नो समेत रोजगारी गुमेपछि सान–साना दुई जना छोराछोरी र बुढी आमा समेत पाल्नको लागि मुस्कील परिरहेको छ ।” बस्नेतले भन्नुभयो, “अरु केही संस्थाहरु आएर बेला बेलामा आफ्नो मान्छे हेर्दै राहत दिने गरेको भएपनि प्रशासनले वास्तवीक विपन्न पहिचान गरेर सहयो गरेको छ, यसमा हामी सबै खुसी छौ ।”

हरेक नागरिकको ज्युज्यानको रक्षा गर्ने राज्यको दायित्व हो । चिसोबाट होस् या विभिन्न विपद्बाट नागरिकलाई सुरक्षित राख्ने कार्यमा राज्य आफ्नो दायित्वबाट पन्छन नमिल्ने प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीको भनाई छ । जसको लागि हरेक जिल्लामा विपद व्यवस्थापन समिति नै गठन गरिएको छ । गृह मन्त्रीले समेत प्रत्यक्ष फोन सम्पर्क गरि चिसोप्रभावित विपन्न परिवारको लागि जिल्लामा गर्ने काम बारे जानकारी लिनुभएको उहाँको भनाई छ ।

तिङ्लाका जस्तै अति विपन्न नागरिकको पहिचान गरि विपद कोषबाट अन्य क्षेत्रका मानिसलाई सहयोग गर्ने प्रजिअ शाहीको भनाई छ । अहिले वास्तवीक विपन्न नागरिकको पहिचान गर्ने काम भईरहेको उहाँको भनाई छ ।

सोलुखुम्बु हिमाली जिल्ला भएकाले माथिल्लो क्षेत्रको तापक्रम माइनस सम्म हुने र चिसोका कारण विपन्न परिवारको दैनिकी समेत कष्टकर बन्ने कुरालाई मध्यनजर राखेर काम गरिएको उहाँको भनाई छ । हरेकलाई राज्यको नागरिक भएको आभाष दिलाउने काम कर्मचारीको भएकाले सोही अनुसार काम गर्नुपर्ने उहाँका धारणा छ ।

उक्त राहत वितरण कार्यक्रममा सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवाल, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक दिनेश शर्मा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार