काठमाडौं : युरोपका आधा जनसंख्यामा अबको ६ देखि ८ हप्तामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिने चेतावनी विश्व स्वास्थ्य संगठन ले दिएको छ । सन् २०२२ को पहिलो हप्तामा युरोपमा ७० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसलाई नै आधार मानेर डब्लुएचओले चेतावनीसहितको आँकलन गरेको हो ।
डेल्टा भेरियन्टको संक्रमण फैलिन नदिनका लागि प्रयास भइरहेका बेला ओमिक्रोन भेरियन्ट नयाँ चुनौतीका रुपमा आएको डब्लुएचओको भनाई छ । युरोपका आधा जनसंख्यामा अबको ६ देखि ८ हप्ताभित्र ओमिक्रोन भेरियन्टको संक्रमण हुन सक्ने उसको चेतावनी छ ।
ओमिक्रोन भेरियन्टको जोखिममा युरोप र मध्य एसियाली देश रहेको जनाइएको छ । पछिल्ला अध्ययनहरुका अनुसार ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र गतिमा फैलिने भए पनि गम्भीर बिरामी पार्ने सम्भावना भने कोभिडका अरु भेरियन्टभन्दा कम रहेको छ ।







