काठमाडौं :सरकारले कोरोना विरुद्धको अतिरिक्त खोपको मात्रा दिन सुरु गरेको छ । कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेका केन्द्रबाट अतिरिक्त डोज दिन सुरू गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, भेरोसेल वा सिनोफार्मको खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक वा जुनसुकै खोप लगाएका दीर्घरोगीलाई थप एक मात्रा खोप दिन सुरु गरिएको छ ।स्वास्थ्य अधिकारीका अनुसार केही समयअघि राष्ट्रिय खोप सल्लाहकार समितिले निश्चित समूहलाई खोपको अतिरिक्त डोज दिन सिफारिस गरेको आधारमा सरकारले यो निर्णय गरेको हो ।
मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर रोगी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरू सेवन गरिरहेका बिरामी, भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सोभन्दा माथि उमेरका व्यक्तिले अतिरिक्त खोप लगाउन पाउने छन् । लक्षित व्यक्तिहरूले खोप कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा गई थप मात्रा खोप लगाउन सक्ने मन्त्रालयले जनाएको छ ।







