विश्व रेबीज विरुद्धको दिवस मनाइँदै

काठमाडौं : आज ‘विश्व रेबिज दिवस २०७८’ नेपालमा पनि मनाइएको छ । मंगलवार तथ्य बुझौँ, त्रसित नहोऔँ’ भन्ने मुल नारासहित इपिडेमियालोजी तथा रोग नियन्त्रण महाशाखाले जावलाखेलस्थित चिडियाखानामा एक कार्यक्रम आयोजना गरी विश्व रेबिज दिवस मनाएको हो ।

कार्यक्रमपछि न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडेमियालोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले रेबिज जंगली तथा घरपालुवा जनावरहरुको टोकाइबाट हुने भएकोले कुनै पनि हेलचेक्राँइ नगरी उपचारमा लाग्नुपर्ने बताउनुभयो । उहाँले जनावरको टोकाइबाट हुने यो रोगको उपचार तत्काल भएमात्रै ज्यान बचाउन सकिने भन्दै जनावरको टोकाइबाट हरेक महिना थोरैमा एकदेखि दुई जना मानिसको मृत्यु भइरहेको बताउनुभयो ।

उहाँले घरपालुवा कुकुरहरुलाई रेबिजविरुद्धको खोप लगाएर पनि आफू बच्न सकिने भन्दै प्रवक्ता पौडेलले जनावरले टोकिसकेपछि १०÷१५ मिनेटसम्म साबुन पानीले टोकेको ठाउँमा धोएमा पनि यसको असर कम हुने बताउनुभयो ।स्तै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. अनुप बाँस्तोलाले वर्षेनी २ दर्जनजति रेबिजको लक्षण भएका बिरामीहरु टेकु अस्पतालमा आउने गरेको बताउनुभयो ।

उहाँले देशभरमा रेबिजबाट मृत्यु हुनेहरुको वार्षिक तथ्यांक राख्न आवश्यक रहेको बताउँदै यसको लागि पहल गरिरहेको बताउनुभयो । कुकुरबाट मानिसमा हुने रेबिजलाई २०३० सम्म शुन्यमा ल्याउने सरकारको योजना रहेको बताउँदै निर्देशक बाँस्तोलाले यसका लागि सबै स्थानमा आम नागरिकले सर्वसुलभ तरिकाले खोप पाउने व्यवस्था गर्नुपर्ने, कुकुरलाई रेबिज हुन नदिन त्यसविरुद्धको खोप लगाउने र कुकुरको जनसंख्यामा कमी गरे २०३० सम्ममा कुकुरबाट हुने रेबिज शुन्यमा ल्याउन सकिने बताउनुभयो । उहाँले रेबिजबाट मृत्यु हुनेहरुको तथ्यांक मानिसको मात्रै नभइ जनावरहरुको पनि यकिन तथ्यांक राख्न सरकारले काम गरिरहेको बताउनुभयो ।

उहाँले विकसित देशहरुमा पनि अहिलेसम्म रेबिज भइसकेका व्यक्तिहरुमा औँलामा गन्न सकिनेलाई मात्र बचाउन सकिएको बताउनुभयो । नेपालमा भने हावादेखि डर लाग्ने र पानी खानदेखि डराउने जस्ता लक्षण देखिसकिएका मानिसहरुलाई बचाउन नसकिने भएकोले समयमै जनावरको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउनुपर्ने बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार