काठमाडौं: काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित रत्नराज्य माध्यामिक विद्यालयमा दोस्रो चरणको भेरोसेल खोप लगाउन पुगेका स्थानीयहरुले हरेक वडाको ३ वटा स्थानमा खोप दिने व्यवस्था गर्न माग गरेका छन ।
शनिबार उनीहरुले खोप लगाउन धेरैको बाँकि रहेको उल्लेख गर्दै हरेक वडाको ३ वटा स्थानमा खोप दिने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन । शुक्रबारबाट सुरु भएको खोप काठमाडांै महानगरपालिका ३२ वटै वडाको १÷१ स्थानबाट दिने व्यवस्था गरिएको छ । तर दोस्रो चरणको भेरोसेल खोप लगाउन नपाएकाहरु धेरै भएकाले वडामा ३ वटा स्थान तोकि सबैले खोप लगाउन पाउने व्यवस्था सरकारले गर्नुपर्ने स्थानीय ताराबहादुर खड्काले माग गर्नु भयो ।
यता, स्थानीय तहले भने आम नागरिकलाई सहज ढंगले खोप दिने व्यवस्था गरिएको दावी गरेको छ । कामनपा–१० का वडाध्यक्ष रामकुमार केसीले भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि आफूहरुले राम्रो व्यवस्था गरेको बताउनु भयो । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, महिलाहरुका लागि लाईन नबसी खोप लगाउने व्यवस्था गरिएको उहाँको दावी थियो ।
वडाध्यक्ष केसीले भन्नु भयो, ‘राम्रोसँग दोस्रो डोजको खोप लगाउने व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्त महिलाहरुका लागि लाईन नबसी खोप लगाउने व्यवस्था गरिएको छ ।’ काठमाडौं महानगरपालिकाले (आईतबार) सम्म यो खोप लगाउने व्यवस्था गरेको छ । तोकिएका सबै खोप केन्द्रहरुका बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाउने व्यवस्था गरिएको पनि वडाध्यक्ष केसीले बताउनु भयो ।







