सोलुखुम्बु : नेपाल पत्रकार महासंघ सोलुखुम्बु शाखाले “पत्रकार आपतकालिन राहतकोष” स्थापना गर्ने भएको छ । आइतबार बसेको महासंघको बैठकले “पत्रकार आपतकालिन राहतकोष” स्थापना गर्ने निर्णय गरेको सोलुखुम्बु शाखा अध्यक्ष नुतन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार विभिन्न समस्यामा परेका पत्रकारहरुलाई सहयोग गर्ने उदेश्यले स्थापना हुने राहतकोष सञ्चालनको लागि निर्माण गरिएको कार्यविधि समेत सोही बैठकले अनुमोदन गरेको छ । पत्रकार महासंघको साधारण सदस्य रहेकाहरुलाई उक्त कार्यविधिले समेट्ने बताइएको छ ।
पत्रकार महासंघको सदस्य भई कुनैपनि सञ्चारगृहमा काम गर्ने सिलसिलामा दुर्घटनामा परि गम्भिर घाइते भइ अस्पताल लैजानुपरेको अवस्थामा सहयोग गर्नसकिने कार्यविधिमा उल्लेख छ । यस्तै अंगभंग भएमा वा जटिल किसिमको रोगको उपचार गर्नु परेमा, दुर्घटनाका कारण मृत्यु भएमा, पत्रकारको परिवार बिरामी भएमा र कुनै आगलागि तथा प्राकृतिक प्रकोपमा परेको अवस्थामा पत्रकारलाई आवश्यक सामाग्री खरिद गर्नुपरेमा पनि उक्त कोषबाट सहयोग रकम उपलब्ध गराउन सकिने अध्यक्ष श्रेष्ठले बताउँनुभयो ।
अहिले महासंघको बैंकमा भएको रु.१ लाख ११ हजार १११ उक्त कोषमा जम्मा गरिने बताइएको छ । पत्रकारीता क्षेत्रलाई व्यवसायीक बनाउनको लागि उक्त कोषले महत्वपुर्ण भूमिका खेल्ने भन्दै सहयोगका लागि आवहान समेत गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
यस्तै जिल्ला शाखाको हालसम्म भवन तथा जग्गा समेत नभएकाले अध्यक्ष श्रेष्ठको अध्यक्षतामा ७ सदस्य जग्गा व्यवस्थापन समिति गठन गर्ने निर्णय गरिएको सचिव दिलबहादुर राईले जानकारी दिनुभयो । यस्तै पत्रकार महासंघको निर्वाचनको बेला मात्रै पत्रकारको खोजी गर्ने र गैह्रपत्रकार समेत सदस्य रहन सक्ने भएकाले विवरण समेत अद्यावधिक गर्ने निर्णय गरिएको छ । पत्रकारीतालाई व्यवसायीक बनाउँदै पत्रकारको क्षमता वृद्धिका लागि स्थानीय सरकार सहित अन्य दातृ निकाय संग समन्वय गर्ने अध्यक्ष श्रेष्ठले बताउँनुभयो ।







