काठमाडौं : उपप्रधानमन्त्री तथा कोभिड – १९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)का संयोजक ईश्वर पोखरेलले देशभरका ८ स्थानमा होल्डिङ सेन्टर स्थापनाको काम अघि बढेको बताउनुभएको छ ।
बुधबार मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशालामा गरेको निःशुल्क आइसोलेसन सेवा सञ्चालनको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले देशभरका ८ स्थानमा एक÷एक हजार क्षमताको होल्डिङ सेन्टर स्थापना गर्ने कामको औपचारिक रुपमा प्रारम्भ भएको बताउनुभएको हो ।
७ वटा प्रदेशमा एक÷एक ओटा र बाँकी एउटा काठमाडौं उपत्यकामा होल्डिङ सेन्टर स्थापनाको लागि अर्थ मन्त्रालयले बजेट छुट्याइसकेको र नेपाली सेनाले निर्माण कार्य प्रारम्भ गरिसकेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘होल्डिङ सेन्टरहरु, सेमि पर्मानेन्ट टाइपका ७ वटा प्रदेशमा ७ ठाउँ र काठमाडौं उपत्यकामा एउटा १÷१ हजार क्षमताको निर्माण गर्ने कुराको औपचारिक प्रारम्भ भएको छ ।
त्यसको लागि अर्थ मन्त्रालयले बजेट छुट्याईसकेको छ । नेपाली सेनाले ८ ठाउँमै निर्माण कार्य प्रारम्भ गर्दैछ । उपप्रधानमन्त्री पोखरेलले सरकारले अक्सिजनको अभावलाई पुरा गर्नका निम्ति पहल गरिरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘अक्सिजन प्लान्टहरुको अभावले गर्दाखेरी हाहाकार सिर्जना भएको छ । हामि त्यो अभावलाई पनि जति सकिन्छ चाँडो पुरा गर्न चाहान्छौँ । यसका लागि सरकारले अरु सबै कुरालाई छोडेर जनताको उपचार गर्ने कुरा, संक्रमणबाट जनतालाई बचाउने, जनताको जीवन रक्षा गर्ने कुरा पहिलो प्राथमिकता हो ।
त्यसको लागि सरकारले जि टू जि वा बि टू बि लेभलबाट होस् । त्यो सबै खरिद गर्ने कुरामा पनि औपचारिक रुपले मन्त्रीपरिषद्ले निर्णय गरिसकेको र आवश्यक पहल र प्रयत्न प्रारम्भ गरेका छौँ । मन्त्री पोखरलेले कोभिडको संक्रमण मानवता र मानविय सभ्यता विरुद्धको आक्रमण भएकाले यसका विरुद्धमा सबै मिलेर लड्नुपर्ने बताउनुभयो । उहाँले मारवाडी सेवा समितिले निःशुल्क आइसोलेसन सञ्चालन गरेर प्रशंसनीय कार्य गरेको भन्दै प्रशंसा समेत गर्नुभयो ।







