एजेन्सी : कोरोना महामारीका कारण विश्वमै सबैभन्दा बढि प्रभावित अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या पाँच लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड–१९ बाट पाँच लाख एक सय ७० भन्दा धेरैको ज्यान गएको छ ।
कुल संक्रमितको संख्या दुई करोड ८१ लाख ८५ हजार चार सय भन्दा धेरै पुगेको छ । विश्वभर हालसम्म ११ करोड १६ लाख ९३ हजार पाँच सय भन्दा बढि संक्रमित पुगेका छन् भने २४ लाख ७३ हजार भन्दा बढिको ज्यान गएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाका कारण पाँच लाख अमेरिकीको ज्यान गएको सन्दर्भ पारेर राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
बाइडेनले कोभिड–१९ संक्रमण रोक्न अधिकतम प्रयास गरेको बताएका छन् । सम्बोधनपछि राष्ट्रपति बाइडेन र प्रथम महिला डा. जिल बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिस र द्वितिय पुरुष डग एनहोफले ज्यान गुमाएकाको सम्मान र स्मृतिमा मौनधारण गरेका थिए । ज्यान गुमाएकाहरुको स्मृतिमा ह्वाइट हाउस बाहिर दीप प्रज्वलन गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।







