काठमाडौं: भारतले छिमेकी मुलुकलाई अनुदानस्वरूप दिने भनेको कोरोनाविरुद्धको खोप आजदेखि पठाउने भएको छ । छिमेकी देश नेपाल, भुटान, मालदिभ्स, बंगलादेश, म्यान्मार र सेसेल्समा कोरोना खोप पठाउने भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
मालदिभ्सबाट खोप पठाउन सुरु गर्ने र अन्य मुलुकमा पनि क्रमशः वितरण गरिने भारतीय विदेश मन्त्रालयले जनाएको छ । सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोनाविरुद्धको खोप कोभिसिल्ड भारतले छिमेकी मुलुकलाई सहयोगस्वरूप दिन लागेको हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्विट गर्दैै बुधारबारदेखि मित्र राष्ट्रमा खोप आपूर्ति सुरु गर्ने जानकारी दिएका छन् । यद्यपि, नेपालमा भारतले कति मात्रामा खोप दिने भन्ने जानकारी नभएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।







