काठमाडौँ : वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो ।
हर्दियाकी २३ वर्षीया संक्रमित महिलाको पेटमा ३३ हप्ताको बच्चा पेटमा थियो । भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी उनलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखिएको थियो । २४ घण्टा भेन्टिलेटरमा राख्दा पनि स्वास्थ्यमा कुनै सुधार भएन । उपचारकै क्रममा भदौ ११ गते बिहीबार बिहान ६ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ वर्षीय पुरुषमा निमोनियासमेत थियो । उनको उपचारका क्रममा भदौ १० गते साँझ ६ः२२ बजे निधन भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।







