एक वर्षभित्रै धरहरा चढ्न पाइने

काठमाण्डाै – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ऐतिहासिक धरहरा पुनर्निर्माणको काम सन्तोषजनक रहेको बताउनुभएको छ । धरहराको पुनर्निर्माणबारे स्थलगत अवलोकनको क्रममा मंगलबार प्रमुख ज्ञवालीले अहिलेकै अनुरूप काम भए तोकिएकै समयमा निर्माण सम्पन्न हुने भन्दै उत्साहपूर्वक काम गर्न निर्देशन दिनुभयाे ।

उहाँले अबकाे एक वर्षभित्रै धरहरा चढ्न पाइने विश्वास दिलाउनुभयाे ।  त्यही अवसरमा प्रमुख ज्ञवालीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले अहिलेसम्म ३२ प्रतिशत काम सम्पन्न भएको र त्यसका लागि ७५ करोड रुपैयाँ खर्च भएको जानकारी गराउनुभयो ।

भूकम्प गएको तीन वर्षपछि धरहरा निर्माणको कामले गति लिएको हो । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्सनले धरहराको पुनर्निर्माण सुरु गरेको छ । निर्माणको लागि जम्मा तीन अर्ब ४८ करोड रुपैयाँ लाग्ने जनाइएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएकाे ऐतिहासिक धरहरा पुनर्निर्माणका लागि गएकाे पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । उहाँले धरहराको इतिहास झल्काउँदै आधुनिकता टल्काउने किसिमबाट निर्माण गर्नुपर्ने बताउनुभएको थियो ।

अहिले त्यहीअनुरुप निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ । नेपाली र केही भारतीय नागरिकसहित दैनिक एक सय ५० कामदार नियमितरूपमा निर्माणमा खटिएका छन् ।

पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । जहाँ दुई वटा लिफ्ट पनि हुनेछ । एउटा परम्परागत भर्‍याङ रहनेछ । लिफ्ट र भर्‍याङ दुई वटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । अब बन्ने धरहरा अत्याधुनिक र सुविधासम्पन्न हुनेछ । ४२ रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए तापनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार