लुक्ला भन्दा माथिल्लो क्षेत्रमा व्यवसायिक हेलीकप्टर उडानमा गाउँपालिकाको प्रतिबन्ध

सोलुखुम्बु  :  सगरमाथा क्षेत्रमा व्यवसायिक हेलीकप्टर उडानमा प्रतिबन्ध लगाउने निर्णय खुम्बु पासाङल्हामु गाउँपालिकाले गरेको छ । आउदो पुस १७ गतेबाट व्यवसायिक हेलीकप्टर उडानमा रोक लगाउने निकुञ्जको निर्णय प्रति गाउँपालिकाले समेत सहमति जनाएको हो ।

सगरमाथा क्षेत्रको संरक्षण र दीर्घकालीन विकासका लागि हेलिकप्टरको उडानमा रोक लगाउने र यस क्षेत्रको प्राकृतिक सोन्दर्य, जैविक विविधता र सांस्कृतिक धरोहरलाई कायम राख्न सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको गाउँपालिका प्रवक्ता लाक्पा छिरी शेर्पाले बताउनुभयो ।

हेलिकप्टर कम्पनीले मनपरी ढंगले उडान अवतरण गर्दा निकुञ्जको वन तथा वातावरण र वन्यजन्तुको सुरक्षामा समेत चुनौती थपिएको जनाएको छ । निकुञ्ज भ्रमण गर्न आउने पर्यटक, स्थानीय र पदमार्गीको स्वास्थ्य ध्यानमा राख्दै सर्तसहित उद्धार उडान भने गर्न पाइने छ । जसमा नजिकैको स्वास्थ्य संस्था, मध्यवर्ती उपभोक्ता समिति र वडा कार्यालयलाई मौखिक÷लिखित सिफारिसपछि मात्र निकुञ्जले अनुमति दिने छ । उद्धार उडान गर्नुपर्ने अवस्था आए निकुञ्जबाट पूर्वसहमति लिएर हेलिकप्टर अवतरण गर्ने स्थान तय गर्नुपर्ने छ । उद्धार हुने व्यक्तिको विवरण निकुञ्ज कार्यालयमा पेस गर्नुपर्ने भएको छ ।

हेलिकप्टरमा उद्धार (रेस्क्यु) गर्नुपर्ने पर्यटक बाहेक अरूलाई ओसारपसार गर्न रोक लगाइएको छ । खुम्बु क्षेत्रको भौगोलिक अवस्था मध्यनजर गरी स्थानीय स्तरमा आवश्यक सामग्री ढुवानीका लागि भने पूर्वसहमतिमा कार्गो उडान गर्न पाइने छ । सगरमाथा आरोहणका लागि कार्गो ढुवानी गर्न पाङबोचे भन्दा माथिल्लो क्षेत्रमा अवतरण गर्न पाइने छैन । व्यवसायिक उडानका लागि कुनै पनि बुकिङ नगर्न टेकिङ कम्पन्नीहरुलाई गाउँपालिकाले आग्रह गरेको छ । हेलीकप्टरका कारण स्थानीय व्यापार व्यवसाय र रोजगारीमा समेत असर परेको गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार