साल्मे– सिस्नेरी सडकखण्डमा पहाड नै खस्यो, सडक अवरुद्ध

सोलुखुम्बु : सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –११ को तिङ्लास्थित साल्मे–सिस्नेरी सडकखण्डमा पुन ठुलो पहिरो गएको छ । आज बिहान उक्त क्षेत्रमा माथिबाट पहाड नै खस्दा सडक पुर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । लगातारको वर्षासँगै दैनिकजसो जाने पहिरोले दैनिक यातायातका साधन सञ्चालनमा समस्या भएको हो ।
वर्षायाममा वर्षौदेखि दुःख दिइरहेको उक्त पहिरो पछिल्लो समय परेको लगातारको वर्षाले झनै झर्न थालेपछि यातायातका साधन अवरुद्ध हुने गरेका छन् भने खुलेको समयमा पनि माथिबाट पहिरोको जोखिम रहेको चालकहरू बताउँछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका इन्चाज कृष्णकुमार कटुवालले पानी पर्नासाथ माथिबाट आएको पहिरोको कारण आज बिहानबाट सवारी सञ्चालन ठप्प भएको जानकारी दिनुभयो । माथिल्लो भागबाट खसेको ढुङ्गा र लेदोसहितको पहिरो सडकमा थुप्रिएको र तल्लो भागबाट पनि पहिरो गएकाले खुलाउन निकै समय लाग्ने उहाँले बताउनुभयो । पानी पर्नासाथ सडक मार्ग बन्द भए पछि जिल्ला सदरमुकाम भित्रिने तथा बाहिरिने सवारी साधनहरू अलपत्र पर्ने गरेका छन् । जिल्लाबाट काठमाडौं, विराटनगर तथा छिमेकी जिल्लाहरूका लागि छुटेका र सदरमुकाम आउँदै गरेका मालवाहक तथा यात्रुबाहाक सवारी साधनहरू दैनिक घण्टौ रोकिने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

 

यस क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलु हाईड्रोपारले पहिरो पन्छाउन एक्स्काभेटर तथा अन्य जनशक्ति समेत सहयोग गर्दै आएको छ । जिल्ला भित्रिने एकमात्र सडक मार्ग बारम्बार अवरुद्ध भइरहँदा एकातिर यात्रा जोखिमपूर्ण बनिरहेको छ भने अर्कातिर समयमा गन्तव्यमा पुग्न सक्ने अवस्था छैन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार