काठमाडौं : नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने सम्बन्धमा गठबन्धन दलमा कुनै छलफल नभएको स्पष्ट पार्नुभएको छ ।
बिहीवार पार्टी कामको शिलशिलामा धनगढीमा पुग्नुभएका अध्यक्ष नेपालले समाजवदी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने सम्बन्धमा गठबन्धनका दलहरुबिचमा कुनै छलफल नभएको बताउनुभएको हो ।
उहाँले आफु निरन्तर काठमाडौं बाहिर रहेको र नेताहरुपनि व्यस्त रहेका कारण पाँच दलको बैठक समेत बस्न नसकेको उल्लेख गर्नुभयो ।अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायपालिकामाथि अनावश्यक लाञ्छना लगाउने काम गर्दै आउनुभएको आरोप लगाउनुभयो ।
ओलीले रिस साँध्नका लागि सबै न्यायाधीसहरुलाई हटाउनुपर्छ भन्ने कुरा उठाएको उहाँले बताउनुभयो । ओलीको हस्तक्षेपकारी भुमिकाका कारण न्यायालयमा अहिले समस्या देखिएको उहाँको भनाई छ । ओलीले नै सबैथोक बिगारेको उहाँले बताउनुभयो । अध्यक्ष नेपालले एकीकृत समाजवादीले चुनावमा अरु पार्टी सँग गठबन्धन गर्ने पनि बताउनुभयो । वर्तमान गठबन्धन पनि चुनावसम्मै जाने उहाँले बताउनुभयो ।
अन्य पार्टीसँग गर्ने चुनावी तालमेलको सम्बन्धमा छलफल, परामर्श शुरु गर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।अध्यक्ष नेपालले निर्वाचन आयोगबाट कलम चुनाव चिन्ह पाइसकेको उल्लेख गर्दै हिजोको सूर्य चिन्हमा ग्रहण लागेको टिप्पणी गर्नुभयो । उहाँले न्याय र सत्यको आवाज बुलन्द गर्नका लागि कलम चिन्ह नै जनताले रोज्नुपर्ने अवस्था बनिसकेको बताउनुभयो ।