ईलाममा जनगणना सम्बन्धि सचेतना तथा जागरण कार्यक्रम सम्पन्न

ईलाम– राष्ट्रिय जनगणना २०७८ सम्बन्धी सचेतना तथा जागरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल शेर्पा संघ केन्द्रीय समितिको आयोजनामा भएको सचेतना तथा जागरण कार्यक्रम जिल्ला कार्यसमिति ईलामको व्यवस्थापनमा सम्पन्न भएको हो । ईलाम कार्यसमितिका अध्यक्ष दानु शेर्पाको अध्यक्षतामा तथा केन्द्रीय उप-महासचिव फुर्बा तेन्जिङ शेर्पाको प्रमुख आतिथ्यतामा ईलाम नगरपालिकाको रक्से बजारमा आज सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय उप-महासचिव फुर्बा शेर्पाले हरेक १०–१० बर्षमा हुने राष्ट्रिय जनगणनालाई सबैले आफ्नो मुख्य कार्य भित्र राख्नु पर्ने र समुदायको यथेष्ट जनसंख्या संकलनमा जोड दिनु पर्ने बताउनु भयो । शेर्पाले समुदायको भाषा, धर्म, संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि राष्ट्रिय जनगणनाले विशेष महत्व राख्ने बताए । २०५८ बाट २०६८ मा आईपुग्दा शेर्पाहरुको जनसंख्या उल्लेखीय रुपमा घटेको भन्दै जनगणना प्रति सबै सचेत र चनाखो हुनु पर्ने बताए । शेर्पाले प्रदेशमा कम्तीमा पनि १ प्रतिशत जनसंख्या भएको भाषालाई सरकारले कामकाजी भाषाका रुपमा रहने व्यवस्था गरेको र स्थानीय तहमा पालिका वडामा बहुसंख्याक जनताले बोल्ने १ देखि ३ सम्मको मातृभाषालाई समेत पालिका र वडास्तरको सरकारी कामकाजको भाषाको मान्यता पाउने भएकोले जनगणनालाई महत्वका साथ हेर्नु पर्ने बताए । हिमाली आदिवासी शेर्पा समुदाय बौद्ध धर्मवालम्वीहरु भएका कारण र उनिहरुको बौद्ध धर्मग्रन्थहरुमा भोट प्रयोग भएकोले दोस्रो भाषामा भोट भाषालाई प्राथमिकता दिनु पर्ने समेत बताउनु भयो ।

ईलाम कार्यसमितिका अध्यक्ष दानु शेर्पाले मूल गणना २०७८ कार्तिक २५ देखि मंसिर ९ गतेसम्म भएकोले सबै ईलामेली शेर्पाहरु जनगणनामा सकृयताका साथ सहभागी हुनु पर्नेमा जोड दिनु भयो । अध्यक्ष शेर्पाले कार्तिक ३ गते बाट जिल्लाको विभिन्न नगरपालिका र गाँउपालिकाहरुमा कार्यक्रम गर्ने योजना भएता पनि कही समय यताको भारी वर्षा र पहिरोका कारण स्थगित भएको जानकारी दिए । यसरीनै शेर्पाले कार्तिक ७ र ८ गते क्रमश: सन्दकपुर गाँउपालिका र देउमाई नगरपालिकामा सचेतना कार्यक्रम आयोजाना हुने र स्थगित सुर्योदय नगरपालिका र माई जोगमाई गाँउपालिकामा चाडै नै आयोजना हुने समेत जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार