मेरापिक क्षेत्रमा दुई विदेशी सहित १० पर्यटक फसे, तीन जनाको अवस्था जटिल

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : निरन्तरको वर्षात संगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा दुई विदेशी सहित १० जना पर्यटक मेरापीक क्षेत्रमा फसेका छन् । जिल्लाको महाकुलुङ गाउँपालिकामा पर्ने मेरापिक आरोहण गरेर फर्कने क्रममा मंगलबार दिउँसो देखि उनीहरु हिउँमा फसेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कबित कटवालका अनुसार निरन्तर परेको पानी तथा हिमपातका कारण ५७०० मिटरको मेराला ओडारमा ४ जना, हाईक्याम्पमा ४ जना र ५३०० मिटरको बेसक्याम्पमा २ जना आरोही फसेका हुन् ।

प्राप्त जानकारी अनुसार मेरालामा फसेका ४ मध्ये १ बेलायती नागरिक स्टु सियन सहित सोलुखुम्बुका आरोही गाईडहरु पासाङ छिरिङ, छेतेन शेर्पा, र पासाङ शेर्पा रहेका छन् । त्यस्तै, हाईक्याम्पमा १ विदेशी पर्यटक, पुर्ण थापा मगर सहित नाम नखुलेका दुईजना र बेस क्याम्पमा नाम नखुलेका थप दुई जना अलपत्र परेका हुन ।

उनीहरु एडभेन्चर भिक्टोरी र मकालु एडभेन्चर मार्फत मेरापिक आरोहणमा गएका थिए । मौसम प्रतिकुलका बिच पनि उनिहरुको उद्धारका लागि महाकुलुङको खारेबाट ७ जना क्लाइबिङ शेर्पा मेराला ओडारमा पुगेका छन् ।

एडभेन्चर भिक्टोरी सञ्चालक लक्ष्मण मिसन कार्कीका अनुसार मेराला ओडारमा ४ जना बसेको भएपनि उद्धारमा पुगेकाहरुले तीन जनालाई मात्रै जटिल अवस्थामा भेटेको बताउँनुभयाे । अन्यको अवस्थाका बारेमा केही पनि जानकारी नभएको उनको भनाई छ । हाईक्याम्प र बेसक्याम्पमा रहेकासँग सञ्चित खानेकुरा भएपनि मेराला ओडारमा फसेकाहरुसँग कुनैपनि खानेकुरा नहुँदा समस्या भएको उहाँको भनाई छ ।

“मेराला ओडारमा भेटिएका तीन जनाको अवस्था जटिल छ भन्ने खबर आयो ।” कार्कीले भन्नुभयाे, “हिजो देखि हेलिकोप्टर तयारी अवस्थामा राखेर बसियो तर मौसम प्रतिकुल हुँदा समस्या भयो, अहिले पनि म नागरिक उड्यान प्राधिकरणको कार्यालय काठमान्डौ मै छु ।” मौसम अनुकुल हुनसाथ उद्धारका लागि हेलिकोप्टर पठाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार