राजनीति पेसा हैन, सेवा हो

निर्वाचन स्थानीय, प्रदेश र संघको मात्र महत्वपूर्ण होइन। सबै पार्टीको अधिवेशन पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । क्रान्ति बन्दुक बोक्नु मात्रै होइन, बरु औचित्य समाप्त भैसकेको विचारको र असान्दर्भिक चरित्रको बहिष्करण गर्दै हरेक पार्टीभित्र आन्तरिक संघर्षबाट असल नेतृत्वको चयन गर्नु पनि हो।

अहिले मानिसहरु जुन नेतालाई निर्वाचनमा मत दिएपनि उस्तै छन्, कसलाई दिउ?सबैको चरित्रमा दाग नलागेको भन्ने छदैछैन भन्ने छ। मानिसहरु उपयुक्त विकल्प नभेट्दा उनिहरु मौजुदा नेतामध्य राम्रोलाई मतदान गर्छन्, तर उनिहरुले निर्वाचन जितेपछि आर्थिक अनुशासन कायम गर्न विफल हुन्छन् र आजित जनताको क्रोध छरपस्ट फिँजिन्छ गाउँभरी तर बबुरो जनहरु यो भन्दा अरु केही गर्न समर्थ रहन्नन् ।

यसको मुख्य कारण हरेक पार्टीको महाधिवेशनमा ध्यान नदिनाले हो। पार्टीभित्र खराब नेताहरुको शुद्धीकरण गर्न नसक्नुको परिणाम हो।असल नेतृत्वलाई स्वीकार गर्न नसक्नुको तितो यथार्थ हो।सबै पार्टीका कार्यकर्ताहरुको एउटा गज्जबको रोग छ। त्यो के भने आफ्नो पार्टीका नेता कार्यकर्ता सबै देवता हुन् र अरुका सबै राक्षस। भलै त्यो बलात्कारी, भ्रष्टाचारी, क्षमताविहिन र सामाजिक रुपमा पतन भएको किन नहोस, आफ्नो पार्टीमा प्रवेश गरेपछी त्यसको देवत्वकरण गर्ने चलन छ। उसको अँध्यारो पक्षलाई छोप्ने चलन व्यापक छ।

त्यो आचरण नै सबैभन्दा हानिकारक राजनीतिक व्यबहार हो जसले देशलाई आजको स्थितिसम्म ल्याएको छ। भ्रष्टाचार, अशान्ति, बेथिति, विसङ्गती र गरिबी सिर्जना गर्नमा हामी आम सर्वसाधारण पनि सम्मीलित छौं किनकि तिनीहरुलाई सत्ताको भर्र्याङ् चढाएर त्यो हैसियत कमाईदिने हामी नै हौं ।

दक्षिण कोरिया जसको हैसियत हाम्रो देशभन्दा पनि तल्लो स्तरको थियो जसलाई भोकमरीबाट बच्न चन्द्र शमसेरले करिब ५० मुरी गहुँ अनुदानमा दिएको प्रसङ्ग खुब चर्चामा आउने गर्छ बेला बखत तर आज मेरो छोरोको दक्षिण कोरियाको कामदार भिजा लागोस भनेर हलेसी महादेवको भाकल गर्नु पर्ने विवशता हामीमा छ। त्यो किन भयो? सबैले भन्छन् त्यो नेताले गर्दा भयो तर त्यसो होइन।

त्यो नागरिक चेतनाको कमिले भयो। सबै पार्टीका कार्यकर्ताले आफ्नो पार्टीको नेतृत्व उच्च आर्थिक हैसियत र पुरानो नेता भनेर मात्रै छाने र राज्य संचालन गर्ने संयन्त्र विकास गर्न निर्वाचन आयोगले गर्ने आवधिक निर्वाचनमा टिकट लिने र दिने काममा उनिहरुकै बोलवाला बढ्यो र जनताहरुले उत्तम विकल्प भेट्नै सकेनन्। नेतृत्व अस्विकार गर्ने प्रणाली( Right to Reject) लाई पनि उनिहरुले नै विफल तुल्याईदिए किनकी उनिहरुलाई थाहा छ सबै नेताहरु अस्विकारयोग्य छन् ।

त्यसो हुँदा अन्त्यमा आएर भ्रष्टाचारीहरु मध्य कम भ्रष्टाचारीलाई छान्दा पनि भ्रष्टाचारको आकार सानो बन्न सकेन। सिङ्गापुरका पिता भनेर भनिने लिक्वान यु उच्च नागरिक चेतनाले जन्माएको पात्र हुन् जस्तो लाग्छ मलाई। तर, आजको नेपाली चेतनाले लिक्वान यु जन्माउदैन बरु विगत बल्झाउछ, भ्रष्टाचारको ईतिहासको पुनरावृत्ति हुन्छ, कुरो त्यति। अहिले नेपाली काङ्ग्रेसको महाधिवेशनले कार्यकर्ताहरुको मन उथलपुथल हुनुपर्ने हो, नेतृत्व वर्गले आफू नेतृत्वमा आए देशलाई यो मार्गमा डोहोर्याछु भनेर अबको योजना आम क्रियाशील काङ्ग्रेसलाई अनुभुत गराउनुपर्ने बेला हो तर कार्यकर्ताहरु( क्रियाशील सदस्यहरु)पनि ढुक्क छन् किनकि उनिहरुले मतदान गर्ने नेतृत्व पहिले नै निश्चित छन अथवा भन्नुस उनिहरु गुटमा आवद्ध छन र नेतृत्व वर्ग पनि ढुक्क छन् किनकी उनिहरु क्षमताको चुम्बकले तान्ने मत भन्दा पनि गुटको मतमा विश्वास गर्छन् ।

नेतृत्वलाई थाहा छ राजनीति गर्न क्षमता चाहिन्न बरु चाहिन्छ गुटमा आवद्धता र उच्च आर्थिक हैसियत जो जसरी कमाएको भए पनि चल्छ। खै त राजनीतिक कुशलता? खै त नागरिक चेतना? कुरो नेपाली काङ्ग्रेस पार्टीको मात्र हैन यो रोग सबै पार्टीलाई लागेको परम्परागत रोग हो जो अहिलेको महामारी कोरोना भन्दा लाखौं गुणा खतरापूर्ण हुन्छ तर सावधानी शुन्य छ। हरेक पार्टीका युवाहरुले बेला बखत नेतृत्व हस्तान्तरणको कुरो त उठाउछन् तर उनिहरु उमेरमा मात्रै नयाँ हुन्, कार्यशैली, राजनीतिक संस्कार र क्षमताले होइनन् ।

युवालाई नेतृत्व हस्तान्तरण गर्दा पनि देशमा कायापलट होला भन्ने कुनै आशा छैन। त्यसैले अब नागरिक चेतना पहिलो सर्त हो।हरेक पार्टीमा सचेत नागरिकले खराब नेतृत्वको खराब राजनीतिक अस्तित्वलाई अस्विकार गरे कुनै पनि तहको निर्वाचनमा जुन राजनीतिक दलले नेतृत्व समाल्ने जिम्मा पाए पनि पछुतो मान्नु पर्दैन। दोस्रो कुरो अब राजनीतिक शक्ति हात लिन्छु भन्नेले अध्ययन गर्न जरुरी छ।

राजनीति गर्ने हिम्मत गर्नु चानचुने कुरो हुँदै हैन। राज्य परिवर्तन गर्ने, देशलाई स्वर्ग बनाउने र सम्पुर्ण देशवासीहरुको जीवनलाई सुखमय बनाउने अभियानमा होमिनु हो।जसको लागि अध्ययन, समर्पण, त्याग, र विशिष्ट योजना जस्ता विषयहरु पर्दछन् तर यहाँ राजनीतिक कर्मलाई सजिलो गरि परिभाषित गरिन्छ। राजनीतिक पार्टीको झण्डा समातेको धेरै वर्ष भो भनेर मात्र नेतृत्वमा आउनु पाउनु पर्छ भन्नू मुर्खता हो।

पुराना भएको चिज त सङ्ग्राहलयमा मात्रै राखिन्छ, दैनिक प्रयोजनमा हैन। के अबको शिक्षित र चेतनशील युवाहरुले पुरानै शैलीको युवा नेतृत्वलाई स्वीकार गर्ला? विचार गर्ने बेला आएको छ।फेरि युवा कसलाई भन्ने? मेरो दृष्टिकोणमा युवा उमेरले हुने हैन। युवा त विचार, क्षमता, ईमानदारीता र उर्जाले हुने हो।

तसर्थ युवा नेतृत्वहरुले आफुलाई देश हाक्न सक्ने क्षमता आर्जन गर्नु आजको आवश्यकता हो। जम्मै पार्टीको युवा नेतालाई राजनीतिक क्षमता आर्जनको शुभकामना। विचार गर्नुस, राजनीति पेसा हैन, सेवा हो। यसो गरे मात्र राजनीतिकर्मीहरु राजनेता बन्न सक्छन् ।उनिहरुलाई तबमात्र देशले श्रद्धाभावले सम्झिनेछ।

जय देश, जय नेपाल, जय मातृभूमि। लेखक : साेलुखुम्बु बहुमुखी क्याम्पसका प्राध्यापक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार