साेलुदुधकुण्ड -७ काे कांग्रेस अधिवेशन विवाद निर्णायर्थ पठाउने निर्णय बाटैमा तुहियाे

निर्वाचन अधिकृतकाे निर्णयमाथि जिल्ला समितिकाे प्रश्न !

  नेपालन्यूजसाईट समाचारदाता

साेलुखुम्बु : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि सोलुखुम्बु खटिनुभएका निर्वाचन अधिकृत कैलाश गुरुङले विवादित निर्णय गरेको आरोप लागेको छ । सोलुखुम्बुमा देखिएको गुटउपगुटले पार्टीको १४औँ महाधिवेशन अन्तरगत भएको वडा अधिवेशनमा प्रभाव राखेपछि निर्वाचन अधिकृत गुरुङलाई उक्त आरोप लागेको हो ।

सोलुदुधकुण्ड नगरपालिका–७ को वडा अधिवेशनमा एकलौटी ढंगबाट जालझेलपुर्ण वडा अधिवेशन गरेकाले बदर गरि पुनः अर्को निर्वाचन गर्न माग गर्दै असन्तुष्ट पक्षका राजकुमार प्रधान सहितका १६ जना सदस्यले जिल्ला निर्वाचन अधिकृत समक्ष उजुरी गरेपछि समस्या सृजना भएको हो ।

समस्या निरुपनको लागि आफ्नो कार्यकक्षमा दुवैपक्षसंग पटक पटक छलफल गरेपनि निश्कर्ष निस्कन नसकेको अधिकृत गुरुङले बताउँनुभयो ।

भदौ २९ गते अन्तिम पटक दुवैपक्षलाई राखेर छलफल गर्नुभएका निर्वाचन अधिकृत गुरुङले यहाँ निर्णय हुन नसकेकाले सक्कल निवेदनका साथमा सम्पुर्ण कागजात सहित निर्णायर्थ केन्द्रीय निर्वाचन समितिमा पेश गर्ने निर्णय गरिएको थियो ।

पार्टीका दुवै समुहले अडान नछाड्नुका साथै आफ्नो पक्षमा निर्णय गराउन दबाव दिएपछि अधिकृत गुरुङले जिल्लामा निर्णय दिन नसकेपछि काठमान्डौमा पुगेर अर्कै निर्णय गरेको अनुमान गरिएको छ ।

पुर्व मन्त्री बलबहादुर के.सी र पुर्व पार्टी सभापति आङगेलु शेर्पा पक्षले आ– आफ्नो पक्षमा निर्णय गर्न अधिकृत गुरुङलाई तिब्र दबाद दिदै आएको श्रोतले बताएको छ । जिल्लामा निर्णय दिन नसकिएको भन्दै केन्द्रमा पेश गर्ने लिखित निर्णय गरि जिल्ला समितिलाई जानकारी गराउनुभएका गुरुङले सोही दिन काठमान्डौ जानुभएको थियो ।

तर केन्द्रीय निर्वाचन समितिलाई भने यस विषयमा कुनैपनि जानकारी नभएको निर्वाचन समितिका संयोजक महादेव यादवले बताउँनुभयो । केन्द्रमा उजुरी आएको खण्डमा थप छलफल हुने भन्दै उहाँले मौखिक रुपमा केहि विषय आएपनि लिखित रुपमा नआएको बताउँनुभयो ।

केन्द्रीय समितिमा पेश गर्ने निर्णय गरि मंगलबार काठमान्डौ जानुभएका अधिकृत गुरुङ आफैले भदौ ३० गते अर्थात बुधबार बिहान जिल्लाको सवै वडामा विधि र विधान अनुसार नै वडा अधिवेशन सम्पन्न भएको विज्ञप्ती मार्फत जानकारी दिनुभएको छ ।

अघिल्लो दिनको निर्णय विपरित विज्ञप्ती जारी गरेको भन्दै जिल्ला सभापति बिनोद बस्नेतले ध्यानकर्षण भएको बताउँनुभयो । जिल्ला समितिको तर्फबाट विज्ञप्ती जारी गर्दै उहाँले जिल्ला समितिलाई दिएको जानकारी विपरित निर्वाचन अधिकृतले बाटो–बाटैमा अर्को निर्णय गरि अधिवेशनलाई थप विवादमा ल्याउने काम गरेको बताइएको छ ।

उक्त निर्णयले निर्वाचन अधिकृतको कार्यशैलिमा समेत प्रश्न गर्ने प्रशस्त आधार देखिएको सभापति बस्नेतको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार