शैव सम्प्रदायको इतिहास तथा यसको विकासको स्वरुप अत्यन्त विस्तृत एवम् उल्झिएको पाइन्छ । वेद कालमा कल्पना गरिएको रुद्र तथा शिवस्वरुप पछि परिवर्तित कालमा आएर त्यही स्वरुप एक दार्शनिक र सैद्धान्तिक विचारधाराको रुपमा विकास भयो र त्यसका अलग–अलग विचार अनुसार अनेक सम्प्रदायको स्वरुप ग्रहण गर्न पुग्यो ।
नेपाली शैव धर्ममा कुन–कुन शैव सम्प्रदाय चलेका थिए यो कुरो जान्न हामीसँग अत्यल्प साधन छन् । केवल शिलालेखका आधारबाट केही शैव सम्प्रदायहरुको नाम जान्न हामी सफल हुन्छौं तर तिनीहरुको राम्रो परिचय दिने समस्या अझ कठिन छ । धेरै शिलालेखमा शिवनमस्कार अथवा राजाहरुको ….. पशुपति भट्टारकपादानुगृहीतः अथवा यस्तै यस्तै उपाधी देख्दछौं तर कुनै विशेष शैव सम्प्रदायको उल्लेख कम पाइन्छ ।
शिला लेखहरुमा जति शैव सम्प्रदायको उल्लेख छ, त्यहाँ या त अभिलेखै भग्न भइदिएको छ या सम्प्रदायको नामोल्लेख बाहेक अरु केही पनि छैन ।१ हालसम्म अध्ययन भइसकेका र प्राप्त भइसकेका शिलालेखहरुको निरिक्षण गर्दा निम्न शैव सम्प्रदायहरुको उल्लेख पाइन्छ ।
(१) पाशुपत सम्प्रदाय
(क) लकुलीश पाशुपत
(ख) मुण्डश्रृङखलिक पाशुपत
(ग) श्रृङ्खलिक पाशुपत
(घ) वंश पाशुपत
(ङ) दानपाशुपत
(२) सोमासिद्धान्त
(३) मिश्रशैव धर्म
(४) माहेश्वर सम्प्रदाय
(५) नाथ सम्प्रदाय
(६) वीरशैव सम्प्रदाय
(७) लिङ्गायत शैव सम्प्रदाय
१ पाशुपत सम्प्रदाय
अंशुवर्माले आफ्नो समयको प्रायः सबै अभिलेखहरुमा …. भगवत्पशुपति भट्टारकपादानुगृहितः उपाधी लेखाएको पाइन्छ ।२ यसबाट अंशुवर्माले पाशुपत सम्प्रदाय मानेको कुरा स्पष्ट हुन्छ । उक्त उपाधि उनको सबै अभिलेखमा उल्लिखित भएको पाइन्छ । अंशुवर्मापछि लिच्छवी राजा नरेन्द्रदेवले वज्रेश्वर महादेवको पुजाको प्रसङ्गमा पाशुपत सम्प्रदायका अनुयायी र ब्राम्हणहरुलाई भोजन गराउने आज्ञा दिएको देखिन्छ ।३ नरेन्द्रदेवले सर्वप्रथम गहिरीधारा अभिलेखमा पाशुपत सम्प्रदाय उल्लेख गरेका छन् । अंशुवर्मा पछिका जिष्णुगुप्त४ र द्वितिय शिवदेवले ५ पनि अंशुवर्माकै जस्तो उपाधी लेखाएको वा ग्रहण गरेको देखिन्छ । यसबाट उनीहरु पाशुपत सम्प्रदाय मान्ने रहेछन् भन्ने कुरा स्पष्ट बुझिन्छ ।
नेपालमा मल्लकालिन समयमा पनि पाशुपत सम्प्रदाय लोकप्रिय रहेको बुझिन्छ । यस कालका राजा जयस्थितिमल्ल ६ त्यसैबेला भएका महामन्त्री जयसिंहरामबद्र्धन ७ जयस्थितिमल्लका माहिला छोरा ज्योर्तिमल्ल८ यक्षमल्ल९ ले पनि उही उपाधि ग्रहण गरेको देखिन्छ । यसबाट उनीहरु पाशुपत सम्प्रदाय मान्ने रहनेछन् भन्ने कुरा स्पष्ट बुझिन्छ ।
पाशुपत सम्प्रदायका अनुयायीहरुले त्यो समयमा अष्टपुष्पिकाको पुजा गर्ने गरेको भन्ने हर्षका समकालिन लेखक वाणले हर्षचरितमा अष्टपुष्पिकाको पुजाको उल्लेख गरेका छन् । तत्कालिन समयको पशुपति मुद्रा, अष्टपुष्पिकाको पुजा आदिले त्यो समयमा यस सम्प्रदायको विशेष व्यापकता रहेको बुझिन्छ ।
१(क) लकुलिश पाशुपत
लकुलीश पाशुपत सम्प्रदाय पुराण, पञ्चार्थिक टिका, कारवण माहात्म्य र तन्त्रलोक आदि ग्रन्थहरुमा शिवका अवतार मानिएका लकुलीश नामका एक व्यक्तिद्वारा स्थापित भएको मानिन्छ । नेपालमा पाशुपत सम्प्रदायसँगै आधारित र अविभाज्य भई लकुलीश पाशुपत सम्प्रदाय प्राचिन काल देखि नै लोकप्रिय भइ आएको देखिन्छ ।
जिष्णुगुप्तको पालाको छत्रचण्डेश्वर अभिलेख१०बाट सर्वप्रथम लकुलिश पाशुपत सम्प्रदायको उद्भव भएको पाइन्छ। छत्रचण्डेश्वरको उक्त अभिलेख प्रणद्र्दन नाम गरेका एक आचार्यले उत्कीर्ण गराएका थिए ११ यिनलाई लकुलीश पाशुपत सम्प्रदायका अनुयायी मानिन्छ । जिष्णुगुप्तका समयमा आचार्य प्रणद्र्दनले दुईवटा छत्रचण्डेश्वरको१२ मुर्तिहरु स्थापित गरी पादपिठमा (पायात्सोद्य प्रसन्नः स्मरतनुदहनछत्रचण्डेश्वरो वः) लेखाएका थिए ।
कार्य, कारण, विधि, योग र दुखाःन्त सहितको पाञ्चार्थिक दर्शनलाई लकुलिश पाशुपत सम्प्रदायले ग्रहण गरेको पाइन्छ । सातौं शताब्दिमा नेपालमा पाञ्चार्थिक दर्शनमा आधारित अभिलेख, छत्रचण्डेश्वरको असंख्य मुर्तिहरु र शिव सृष्टिका कारण छन् भन्ने पाञ्चार्थिक दर्शनका कारण यो सम्प्रदायको त्यतिबेलाको व्यापकता स्पष्ट हुन आउँछ ।
१.(ख) मुण्डश्रृङ्खलिक पाशुपत
मुण्डश्रृङ्खलिक पाशुपत सम्प्रदायको उल्लेख जिष्णुगुप्तको पालाको छत्रचण्डेश्वर अभिलेखमा पाइएको छ ।१३ मृण्डश्रृङ्खलिकको शाब्दिक अर्थ मुण्ड (टाउको)को माला हुन्छ र मृण्डश्रृङ्खलिक पाशुपत शब्दले एक यस्तो पाशुपत उपसम्प्रदायको बोध हुन्छ, जसका अनुयायीहरुको विशेषता मुण्डमाला लगाउने ज्ञात हुन्छ । मुण्डमाला लगाउने कुराले यसको तान्त्रिक स्वरुप स्पष्टिन्छ ।१४
भारतको कापालिक सम्प्रदायसँग मिल्दोजुल्दो यस सम्प्रदायमा मुण्डमालाको विशेष स्थान थियो । यस सम्प्रदायका अनुयायीहरु मुण्डमालाधारी महादेवको पूजाआजा विशेष रुपमा गर्दथे । मुण्डमाला लगाएका शिव र भैरवका उपत्यकामा रहेका असङ्ख्य मूर्तिहरुले आफ्नै विशेषता सहितको यो सम्प्रदायको उच्च स्थिति रहेको पाइन्छ । तान्त्रिक स्वरुप र चिन्तनमा आधारित यस सम्प्रदायको केही अभिलेखहरुमा मुण्डश्रृङ्खलिक पाशुपतहरुको परिषद्को वर्णन गरिएको छ ।१५ उक्त विवरणहरुबाट मुण्डश्रृङ्खलिक पाशुपत सम्प्रदायले तत्कालिन धार्मिक क्षेत्रमा राम्रो प्रभाव पारेको बुझिन्छ ।
१ (ग) श्रृङखलिक पाशुपत
सातौं शताब्दिमा जिष्णुगुप्तको समयमा आचार्य प्रणद्र्धनले उत्कीर्ण गराएको पशुपति छत्रचण्डेश्वर अभिलेखमा पहिलोपल्ट यो उपसम्प्रदायको नाम उल्लेख भएको पाइन्छ ।१६ पछि आएर नरेन्द्रदेवको पशुपति शिवलिङ्ग अभिलेखमा पनि यो सम्प्रदायको नाम उल्लेख भएको छ।१७ श्रृङखलिक सम्प्रदाय श्रृङखला अथवा सिक्रिसँग सम्बद्ध थियो भन्न सकिन्छ ।
सम्भवत यस सम्प्रदायका अनुयायीहरु शिवलाई श्रृङखला धारण गर्ने रुपमा पुजा गर्दथे र आफ्नो शरिरमा पनि श्रृङ्खला लगाउने गर्दथे । कर्मकाण्डमा आधारित भएको हुनाले श्रृङखलिक नाम रहेको अनुमान गर्न सकिन्छ । शैव दर्शनमा पाश शब्द निकै महत्वपूर्ण छ, सम्भवतः त्यही पाश शब्दकै कुनै नै कुनै सम्बन्ध श्रृङखलाको दर्शनमा पनि रहेको हुन सक्दछ ।
यस सम्बन्धमा नेपालको गोपाल वंशावली (इतिहास)मा पनि विष्णुलाई सुवर्ण श्रृङ्खला चढाउने भनी उल्लेख गरिएको छ ।१८ यस दृष्टिबाट वंशावलीहरुको वर्णनको सम्बन्ध पनि श्रृङ्खलिक पाशुपत सम्प्रदायसँग रहेको बुझिन्छ । यि तथ्यहरुबाट हेर्दा नेपालमा श्रृङ्खलिक पाशुपत सम्प्रदायको इतिहास अधिक महत्वपूर्ण रहेको ज्ञात हुन्छ ।
१.(घ) वंश पाशुपत
शिवदेव द्वितीयको लगनटोल अभिलेखमा यो सम्प्रदायको नाम उल्लेख भएको छ ।१९ अभिलेखमा वंश पाशुपतको रुपमा यस सम्प्रदायको नाममात्र पाइएको हुनाले वंश विशेषणका आधारमा यस सम्प्रदायलाई वा यसका अनुयायीहरुलाई वंशपरम्परात्मक रुपमा रहेको मान्न सकिन्छ । वंश नामाकरणको सन्दर्भमा उत्तर भारतको प्रयाग (इलाहाबादको रुपमा बढी चिनिने) क्षेत्राई वंश देश भनी प्राचिन परम्परामा उल्लेख भएको पाइएकोले त्यसैसित मिलान गरेर तथ्यहरुलाई हेर्न आवश्यक पनि देखिन्छ ।
लिच्छवि राजा शिवदेव (द्वितीय)ले स्थापना गरेको शिवदेवेश्वर भट्टारकको मन्दिरमा प्रबन्धका लागि वंश पाशुपत सम्प्रदायका आचार्यहरुलाई अग्राहार दिएको कुराको वर्णन गरिएको छ । यि अध्ययनहरुबाट वंश पाशुपत सम्प्रदायको आफ्नै मौलिकता रहेको ज्ञात हुन्छ भने अरु पाशुपत सम्प्रदायको जस्तै यसको पनि स्थापना, विकास र पतनबारे अधिक जानकारी प्राप्त हुन सकेको छैन ।
१ (ङ) दान पाशुपत
आठौं शताब्दिको प्रारम्भ वि.सं. ७०२ को नरेन्द्रदेवको पशुपति शिवलिङ्गाभिलेखमा मात्र यो सम्प्रदायको नाम उल्लेख भएको छ ।२० यस अभिलेखबाट नेपालमा दानपाशुपत सम्प्रदाय थियो र यस सम्प्रदायका आचार्य परम्परा पनि रहेछ भन्ने कुरा ज्ञात हुन आउँछ । यो सम्प्रदायको नाम भारतीय पाशुपत सम्प्रदायमा नभेटिएकोले यसको आफ्नै मौलिकता रहेको बुझिन्छ । केवल एउटै अभिलेखमा मात्र यो सम्प्रदायको नाम उल्लेख भएकोले यसको अगाडि पछाडिको स्थिति अस्पष्ट हुन गएको हो ।
(२) सोमसिद्धान्त
विक्रमको तेस्रो शतीतिर उत्पत्ति भएको मानिएको सोमसिद्धान्त सम्प्रदायको अभिलेख छत्रचण्डेश्वरको प्रस्तरमा उल्लेख गरिएको छ,२१ प्राचिनकालमा भारतको गुजरात यो सम्प्रदायको महत्वपूर्ण केन्द्रको रुपमा प्रख्यात थियो भने नेपाल महात्म्य अनुसार नेपालमा सोम सिद्धान्त सम्प्रदाय धेरै अघि देखि नै (सत्य युगदेखि) चलेको थियो ।२२
यस सम्प्रदायका अनुयायीहरु शिवको चन्द्रशेखर मूर्तिको पुजा गर्दथे र शिवको चन्द्रमासँग घनिष्ठ सम्बन्धको कल्पना पनि गर्दथे । उपत्यकामा रहेका भैरवका केही मुर्तिहरुमा शिरमा चन्द्रमा बनाइनुले सोमसिद्धान्त सम्प्रदायको प्रभाव सङ्केत महसुस गर्न सकिन्छ । त्यस्तै नेपाल महात्म्यमा सोमेश्वर लिङ्गको स्थापना स्वयम् चन्द्रमा (सोम) ले गरेका थिए भनि उल्लेख छ ।२३ नेपालमा यो सम्प्रदाय विक्रम सम्बत्को सातौं शताब्दीमा निकै राम्रोसँग स्थापित रहेको पाइन्छ ।
त्यसैगरी सोमसिद्धान्त सम्प्रदायको अभिलेखको उल्लेख भारतमा सर्वप्रथम भीम द्वितीयको बेलाबल अभिलेखमा पाइएको छ ।२४ उक्त अभिलेख ई.सं. दशौं शताब्दीको हो । यस अध्ययनबाट छत्रचण्डेश्वर अभिलेख नै सोमसिद्धान्त सम्प्रदायको उल्लेख गर्ने पहिलो अभिलेख हुन आएको छ । यस कारणले पनि यो अभिलेखको र सम्प्रदायको महत्व बढेको देखिनुका साथै नेपाल महात्म्यमा सोमलिङ्गको आकर्षक वर्णन प्रस्तुत गरिनुले सोमसिद्धान्त शैव सम्प्रदायको पनि तत्कालिन नेपालमा राम्रो स्थिति रहेको बुझिन्छ ।
(३) मिश्र शैव धर्म
नेपाल र भारतमा उत्पत्ति भएका यस्तो कुनै धर्म छैन जसमा शैव धर्मको प्रभाव नपरेको होस् । शैव र अरु धर्महरुमा भएको मिश्रणलाई नै सम्बोधन गर्न मिश्र शैव धर्म भन्ने परम्परा रहि आएको छ । मिश्र शैवधर्मको इतिहास लामो र विशाल छ । एकअर्का धर्महरुमा सामाञ्जस्यताको प्रवृत्ति ऋग्वेदको “एकं सद्विप्रा बहुधा वदन्ति, अग्निं यमं मातरिश्वानमाहुः” यी आदर्श वाक्यहरु मिश्र शैव धर्मको मुख्य पृष्ठभूमिको रुपमा रहेको पाइन्छ ।
नेपाल र भारत दुवैमा मिश्र शैव धर्म शीर्षक अन्तर्गत शैव र वैष्णव, शैव र सौर, शैव र शाक्त, शैव र बौद्ध धर्महरुको पारस्परिक सामञ्जस्यात्मक प्रवृत्तिको इतिहास बनेको थियो । शैवधर्मसँग वा अन्य धर्मसँग मिश्रण भएर नेपालमा एक नविन सम्प्रदायहरु उपस्थित हुनु धार्मिक हिसाबले निकै महत्वको मानिएको छ ।
भौमगुप्तका बाबु अनुपरम वैष्णव थिए र उनले हाडीगाउँको सत्यनारायण स्थानमा व्यासस्तुती अङ्कित गरी एक गरुडस्तम्भ गाडेका थिए । अनुपरमगुप्तकी पत्नी आभीरीले आफ्नो वैष्णव पतिको स्वर्गप्राप्तिका लागि अनुपरमेश्वर नामको एक शिवलिङ्गको स्थापना गरेकी थिइन । यस्तै वातावरणमा शैव र वैष्णव धर्मको मिश्रण भएर एक नविन सम्प्रदाय हरिहरका रुपमा उपस्थित भयो ।२५
वि.सं. ६२४ मा लिच्छवी राजा गणदेवको समयमा हरिहर सम्प्रदाय बारे पशुपति त्यागलटोल अभिलेख मार्फत प्रथम लिखित प्रमाण प्राप्त गरिएको हो। भारतमा हरिहर सम्बन्धि वर्णन सर्वप्रथम वि.सं. ८२९ को कृष्णराजको भण्डक अभिलेखमा पाइन्छ।२६ यस विवरणबाट हरिहर सम्प्रदायको उत्पत्ति र विकास नेपालमै सर्वप्रथम भएको कुरा स्पष्ट हुन्छ ।
नेपालमा हरिहर सम्प्रदायको महत्वपूर्ण स्थान थियो भन्ने कुरा अभिलेखहरुको विवरण, नेपाल महात्म्य तथा हिमवत्खण्ड आदि ग्रन्थबाट पनि स्पष्ट हुन्छ । हरिहर सम्प्रदायको आफ्नै नयाँ दर्शन जो विष्णुलाई शिवरुपले र शिवलाई विष्णुरुपले (यो हरिहररुपेण हरञ्च हरिरुपिणम) मान्दछ उही वास्तविक वैष्णव र शैव हो भन्ने मान्यतामा आधारित रहेको पाइन्छ ।
यसैगरी नेपालमा शैव र सौर (शिव र सूर्य) सम्प्रदायमा पनि अभेदको कल्पना गरी उक्त दुई सम्प्रदायमा एक रुपता देखाउने चेष्टा गरिएको पाइन्छ ।
लिच्छविकालको प्रचलित पशुपति मुद्रामा सुर्य बनाइएकोले हामी विचार गर्न सक्छौं कि लिच्छविकालमा शिव र सूर्यमा घनिष्ट सम्बन्ध देखाउने परम्परा चल्न लागेको थियो । विष्णु पुराणमा पनि शिवका आठ स्वरुपमध्ये एक सूर्य भनी वर्णन गरिएको छ । वि.सं. १३१८ मा भीमदेवको पालाको फर्पिङ अभिलेखमा मात्र हरगौरी फलकको माथिल्लो भागमा सुर्यको आकृति (गोलाकार) बनाएको देखिन्छ ।२७ यि र यस्ता विरणहरुबाट विक्रमको चौधौं शताब्दीमा नेपालमा शिव सूर्यको एकरुपको उपासना हुन्थ्यो । यसरी शैव तथा सौर सम्प्रदायमा सामाञ्जस्यको प्रवृत्ति स्पष्ट देखिन्छ ।
प्राचिन समयमा नेपालमा शैव र शाक्त सम्प्रदाय पनि भिन्नाभिन्नै थियो तर शैव शाक्त सम्प्रदाय यसरी संयुक्त र एकीकृत भए जसलाई फेरि छुट्याउन सकिदैन । मुलतः अंशुवर्माको समयमा शैव र शाक्त सम्प्रदाय एकता भइसकेको देखिन्छ । लिच्छविकालमा बनेका उमामहेश्वर मुर्तिहरु, शिवको पार्वतिसँग संयुक्त रुपमा स्तुती यही सम्प्रदायसँग सम्बन्धित छन् ।
मध्यकालिन नेपालमा शिवशक्ति (शाक्त) सम्प्रदाय वि.सं. १२८३ को द्यौपाटन अभिलेखमा उल्लेख भएको पाइन्छ । सो अभिलेखमा अमृतश्री नामकी महिलाको शिवासायुज्य भएकाले महागौरीको मुर्ति स्थापित गरिएको उल्लेख छ ।२८ नेपालमा मल्लकालमा अन्य केही विवरणहरुबाट पनि शिवशक्ति सम्प्रदायको राम्रो प्रभाव रहेको देखिन्छ ।
त्यसैगरी नेपालमा शैव र बौद्ध दुवै धर्म आ–आफ्नो लोकप्रियतामा रहि आएका छन् । धार्मिक सहिष्णुताको परिणाम स्वरुप दुवै धर्म मिश्रित भएको कुरा पनि विभिन्न तथ्यहरुबाट थाहा पाइन्छ । यो सम्प्रदायलाई हामी शिवबुद्ध नामले बुझ्न सक्दछौं । अंशुवर्मा भन्दा अघिदेखि नै शिवबुद्ध सम्प्रदाय छिटपुट रुपमा देखिएता पनि उनकै पालादेखि चाहि यो सम्प्रदाय स्पष्टिन थालेको देखिन्छ ।
अंशुवर्माले आफ्नो शासनको पहिलो बुङगमती अभिलेखको शीर्ष भागमा बौद्ध चिन्ह (धर्मचक्र र दुई हरिण) उत्किर्ण गराउन लगाएका थिए र अभिलेख भागमा चाही आफ्नो पाशुपत उपाधि ….. भगवत्पशुपति भट्टारकपादानुगृहीत उल्लेख छ ।२९ उक्त अभिलेखको सातौं पङ्तिमा … यदा च पुर्नधर्मसंस्कराणि भनिएको छ ।
यसको अर्थ धर्मको मिश्रण अथवा सामाञ्जस्यता भन्ने हुन्छ । त्यसैगरी लिच्छवी राजा नरेन्द्रदेव आफू पाशुपत सम्प्रदायको भएर पनि अंशुवर्मा जस्तै सहिष्णु व्यक्ति थिए । बौद्धहरुको आर्यभिक्षु सङ्घलाई आर्थिक सहायता दिने, आफ्नो कम्मरपेटीमा बुद्धको मुर्ति अङ्कित निशानी राख्ने आदिले नरेन्द्रदेव शिवबुद्ध सम्प्रदायको अनुयायी मानिन्छ ।
नरेन्द्रदेवको समयभन्दा धेरै पछि वि.सं. १४१२ को दुल्लु अभिलेखबाट शैव तथा बौद्ध धर्मलाई अभेद रुपमा मान्ने सम्प्रदायको अधिक स्पष्ट हुन आउँछ । त्यस अभिलेखमा शुरुमा ओम मणिपद्मे हुँ लेखिएको छ र यसपछि महादेवको स्तुती गरिएको छ ।३० त्यस्तै पृथ्वीमल्लको वि.सं. १४१२ को कनकपत्र अभिलेख,३१ जयसिंहमल्लको वि.सं. १३९४ को महारावणवधनाटक,३२ वि.सं. १४२९ को राजा राजदेवको सिम्भु अभिलेख,३३ आदि तथ्यहरुबाट नेपालमा शिवबुद्ध सम्प्रदायले महत्वपूर्ण इतिहास बनाएको स्पष्ट हुन आउँछ । पशुपतिमै पनि वर्षमा एकपल्ट बुद्ध मुकुट पहिराएर छाँया दर्शन गराइन्छ । यसबाट स्पष्टतः शिव बुद्ध सम्प्रदायको प्रभाव देखिन्छ ।
(४) माहेश्वर सम्प्रदाय
पशुपतिलाई पाँच तत्वहरुका उद्घाटक मान्ने माहेश्वर सम्प्रदायका संस्थापक आर.जी. भण्डारककानुसार पशुपति अथवा शिवलाई मान्नु हुन्छ ।३४ यो सम्प्रदाय निकै पुरानो हो । ई.सं. प्रथम शताब्दीका कुषाण राजा विमा कदफिसस् माहेश्वर सम्प्रदायका अनुयायी थिए भन्ने कुरा उनको पालाको सिक्काहरुबाट थाहा हुन्छ ।
नको पैसामा (सिक्का) उनलाई माहेश्वर भनिएको छ ।३५ नरेन्द्रदेवको पशुपति बज्रघर र येंगुबहाल टोल अभिलेखमा उनलाई भगवत्पशुपति भट्टारकपादानुगृहीतः र .. परममाहेश्वर’ भनिएको छ ।३६त्यसैगरी वि.सं. १२७३ मा सारिएको अमृतेश्वरपुजा नामक ग्रन्थमा अरिमल्ललाई पशुपतिका अनन्य भक्त र परममाहेश्वर,३७ वि.सं.१३१७ मा लेखिएको महालक्ष्मीव्रतको पुष्पिकावाक्यमा जय भिमदेवलाई परम माहेश्वर३८, वि.सं. १३७४ मा सारिएको आख्यातरत्नकोशमा राजा ज्योर्तिमल्ललाई पनि माहेश्वर३९, र धर्ममल्लको पालाको पशुपति, त्यागटोल अभिलेखमा जयसिंहरामबद्र्धनका भाई मदन रामबद्र्धनलाई पनि परममाहेश्वर भनि उल्लेख गरिएको छ ।४० यसरी हेर्दा नेपालमा माहेश्वर शैव सम्प्रदायको पनि ऐतिहासिक कालखण्डमा राम्रो उपीस्थति रहेको थाहा पाइन्छ ।
(५) नाथ सम्प्रदाय
शंकराचार्य ब्रहम्मलिन भएपछि उनका केही मत र केही सिद्धान्तहरुलाई परिवर्तन र परिमार्जन गरी योगी गोरखनाथले नविन सम्प्रदायको प्रार्दुभाव गरी संन्यासीहरुलाई नयाँ शैलीले दीक्षित गरेका थिए । पछि उनीद्वारा दीक्षित भएका अनुयायीहरुको समाजलाई गोरखनाथ सम्प्रदाय भनियो, जसमा चारवटा नाम (पद) नाथ, योगी, पन्थ र कँबर रहेका छन् । यी चार थर अन्तर्गत ४१ वटा उपथरहरु पनि भएकोले गोरखनाथी सम्प्रदायलाई वारपंथी पनि भनिन्छ ।
गोरखनाथी सम्प्रदायको सबैभन्दा ठूलो तिर्थस्थल भारतको गोरखपुरमा अवस्थित गोरखनाथ मन्दिर हो ।४२ नेपालमा नाथ सम्प्रदायका गोरक्ष र मत्स्येद्रका नाममा र त्यसका अनुयायीहरुमा पनि नाथ शब्द जोड्ने परम्परालाई हेर्ने हो भने नेपाल नाथ सम्प्रदायको महत्वपूर्ण स्थान रहेको बुझिन्छ । भारतमा प्राचिन र मध्यकालमा नाथ सम्प्रदाय सम्बन्धी कुनै पनि अभिलेख पाइएको छैन तर नेपालमा विसं. ४९० मा भस्मेश्वर अभिलेखमा नाथेश्वरको उल्लेख गरिएको छ,४३ भने वि.सं. ६०४ को रामदेवको पालाको पशुपति मृगस्थली शिवलिङ्गाभिलेखमा पनि … नाथेश्वरको उल्लेख गरिएको छ ।४४ यि स्रोतहरुबाट हेर्दा नेपाल नाथ (गोरक्षनाथ) सम्प्रदायको महत्वपूर्ण केन्द्र रहेको कुरा थाहा हुन आउँछ ।
केही वंशावलीहरुलाई नै हेर्ने हो भने पनि जयदेव द्वितीयपछिको शासनकालको वर्णनमा गोरक्षनाथ र मत्स्येन्द्रनाथ सम्बन्धी कथा वर्णित भएको पाइन्छ । यस विवरणलाई मान्यता दिने हो भने नाथ सम्प्रदायको इतिहासमा एक अर्को श्रृङ्खला उद्घाटित हुन्छ । पछि नेपालको मध्यकालिन समयलाई हेर्दा वि.सं. १३९१ को काष्ठमण्डपमा रहेको ताम्रपत्राभिलेख जसका नायक नाथ सम्प्रदायका अनुयायी उदेशनाथ४, वि.सं.१४३६ को ‘देवगोरक्ष’ उल्लेख गरिएको काष्ठमण्डपको ताम्रपत्र जसका नायक योगी बालनाथ,४५ वि.सं. १४४८ को गोरक्षपादुका उल्लेख गरिएको फर्पिङ अभिलेख,४६ वि.सं. १५२२ को गोरक्षनाथ स्तुति ताम्रपत्र४७ आदि वर्णन र अभिलेखहरुबाट नाथ सम्प्रदायले नेपालमा राम्रो प्रभाव पारेको बुझिन्छ ।
गोर्खा राज्यको इतिहासमा गोरक्षनाथ सम्बन्धी कथाहरु गोर्खा वंशावलीमा पनि प्रशस्तै पाइन्छन् । यसरी हेर्दा नेपालमा नाथ सम्प्रदाय पनि एक प्रमुख धर्मको रुपमा लोकप्रिय रहेको पाइन्छ ।
(६) वीरशैव सम्प्रदाय
वर्तमान नेपाली समाजमा जङगम थर भएको एउटा सामाजिक वर्ग पनि सम्मिलित रहेको पाइन्छ । मूल थलो भक्तपुर र पनौती रहेको जङ्गमहरु हाल अन्यत्र पनि बसाइसरेका छन् । जङ्गम थर भएका व्यक्तिहरु वीरशैव (लिङ्गायत शैवसँग करिब मिल्दोजुल्दो) सम्प्रदायका अनुयायीहरु हुन् । उक्त सम्प्रदायको उत्पत्ति स्थल दक्षिण भारतको कर्णाटक क्षेत्र हो तर ऐतिहासिक कालहरुमा त्यस सम्प्रदायका अनुयायीहरु भारतमा यत्रयत्र र नेपालमा पनि काठमाडौं उपत्यका क्षेत्र र पूर्व बनेपा, पनौतीतिर बसोबास गर्न थालेको पाइन्छ ।४८
(७) लिङ्गायत शैव सम्प्रदाय
भारतको मैसुर प्रान्तको चित्तलदुर्ग र आसपासको क्षेत्रबाट बाह्रौं शताब्दीतिर लिङ्गायत सम्प्रदायको स्थापना गरिएको बताइन्छ । वासवपुराण नामक एक ग्रन्थ अनुसार वासवलाई यस सम्प्रदायको संस्थापक उल्लेख गरिएको छ । यस सम्प्रदायको सिद्धान्त अनुसार ब्रम्हा शिवतत्व हुन्, जो स्थल कहलाउँछन्, महत् आदि परब्रम्हामा वा शिवत्वमा स्थित छन् तथा उनैमा लिन हुन जान्छन् भनि उल्लेख गरिएको छ ।४९ वीर शैवमा दीक्षालाई संस्कारका रुपमा लिनुका साथै यज्ञोपवितको स्थानमा लिङ्ग धारण गरिन्छ भने लिङगायत सम्प्रदायको उत्पत्ति चाही ब्राम्हणवादको शक्तिप्रति ईष्र्या एवम् विरोधको भावनाबाट भयो ।
यसलाई पालना गर्ने केही उत्साही तथा अनुलिन ब्राम्हणहरु थिए । उनीहरुले लिङ्गायत (वीर) सम्प्रदायलाई विस्तार एवम् परिस्कार गर्नमा महत्वपूर्ण योगदान दिए तर प्राचिन शैव परम्परामा जस्तो अत्याधिक सुधार यस सम्प्रदायमा देखिन्न ।५० वीर अथवा लिङ्गायत दुवैमा शिवको विशेष भक्ति गर्ने र सानो शिवलिङ्ग घाँटीमा धारण गर्ने कुरामा भने समानता पाइन्छ ।
नेपालमा वि.सं. १३५१ मा पनौतीमा स्थापित इन्द्रेश्वर महादेवको मन्दिर, गोपाल वंशावली वि.सं. १७९९ मा भक्तपुर तौमढी वोलाछेमा (वीरशैव) लिङ्गायत सम्प्रदायको मठको स्थापना, वि.सं. १७९९ को मठमै रहेको अभिलेख र अन्य थुप्रै घटनाक्रमहरुबाट लिङ्गायत (वीर शैव) सम्प्रदायको गतिविधि र लोकप्रियता अधिक रहेको बुझिन्छ ।
सहायक सन्दर्भ :
- १.प्रा.डा.जगदिशचन्द्र रेग्मी, उप–प्रा.टि.पि.धमला–नेपालको धार्मिक इतिहास (प्राचीन र मध्यकालिन) पृ.२५, २०७१
- २.बटुटोल, लच्छिटोल, किर्सिपिडि, भन्साहिटि, बुंगमति, हाडिगाउँ (सं.३०), हाडीगाउँ (सं.३२), साँगा, सुन्धारा पाटन,द्यौपाटन पशुपति अभिलेखहरुमा यो उपाधि लेखिएको छ ।
- ३.भगवन्तं वज्रेश्वरमुद्दिश्य, पाशुपातानां ब्राम्हाणानां च यथासम्भवं भोजनं करणीयम् ।
- ४. विष्णुगुप्तको भिमार्जुन देवसँगको भृङ्गारेश्वर सोनागुठी, येंगाहिटि लगनटोल अभिलेखमा यो उपाधि लेखिएको छ ।
- ५. शिवदेवका भृङ्गारेश्वर सोनागुठी, लगनटोल, मुलखु, बलम्बुमा यो उपाधि उल्लेख गरिएको छ ।
- ६. जयस्थिति मल्लले पशुपति जयबागेश्वरी अभिलेखमा आफूलाई…. श्री श्री पशुपतिपादंकरुहमधुलिह र श्रीमत्पाशुपताङघ्री पंकजरजःपिगै स्फित‘विशेषण लगाएका छन्’
- ७. पशुपति त्यागल टोल अभिलेखमा उनलाई…. पशुपतिलिङ्गस्थापनाचार’ (पशुपतिको लिङ्ग स्थापना गर्ने) भनिएको छ ।
- ८. ज्योर्तिमल्लले नेपाल सम्बत ५४३ को काष्ठमण्डपको ताम्रपत्रमा … श्री श्री पशुपतिभट्टारकस्य पादपङ्कजपरागबहलक्रिति’ भनि उल्लेख गरिएको छ ।
- ९. यक्षमल्लले पनि … श्री श्री पशुपतिचरणाविन्द सेवापरायण’ भनी उपाधि लिएका थिए ।
- १०. Indian Antiquary, Vol, IX, P.174 अथवा नोली पृ.७९
- ११.प्रा.डा.जगदिशचन्द्र रेग्मी, उप–प्रा.टि.पि.धमला–नेपालको धार्मिक इतिहास (प्राचीन र मध्यकालिन) पृ.३९, २०७१
- १२. लकुलिशको मुर्तिलाई छत्रचण्डेश्वर भन्ने र यसलाई शिवमन्दिर छेउमा स्थापना गर्ने कुरा पनि नेपालको छुट्टै विशेषता रहेको देखिन्छ ।
- १३. मुण्डश्रृङ्खलिकपाशुपताचार्यपर्षदि’– Indian Antiquary र नोली पृ.७९
- १४. प्रा.डा.जगदिशचन्द्र रेग्मी, उप–प्रा.टि.पि.धमला–नेपालको धार्मिक इतिहास (प्राचीन र मध्यकालिन) पृ.४६, २०७१
- १५. मुण्डश्रृङ्खलिकपाशुपताचार्यपर्षदि’– Indian Antiquary, र नोली पृ.७९
- १६. शेषाःश्रृङ्खलिक पा… नोली पृ.७९–पापछि भग्न भएकोले पा.को पूर्ण शब्द पाशुपत भनी अनुमान गर्न सकिन्छ
- १७. नोली पृ.७८
- १८. राजाश्री जीवगुप्त वर्ष ७४ तेन च नन्दद्वलको निमत्तिलपाल विष्णुभट्टारकस्य शुवर्णशंख लीश्छादन कृत, हिमवत्संस्कृति,अंक १ पृ.१०
- १९. Indian Antiquary, Vol, IX, P.174
- २०. दानपाशुपताचार्यदक्षिणतिलदुकस्य, नोली पृष्ठ ८७
- २१. बराहस्वमिउमसोमक्रसोमखड्डुकानां च– नोली पृष्ठ ७९
- २२. नेपाल माहात्म्य, २६.४
- २३. सोमेन स्थापितो यस्मात । शिवलिङ्गमनुत्तमम् ।। नेपाल महात्म्य २६.११
- २४. Bhanagar Inscriptions, P.186-187
- २५. प्रा.डा.जगदिशचन्द्र रेग्मी, उप–प्रा.टि.पि.धमला–नेपालको धार्मिक इतिहास (प्राचीन र मध्यकालिन) पृ.६१, २०७१
- २६.Epigraphia Indica, Vol.XIV P.121
- २७.Medieval, Nepal, Vol. III, P.12
- २८. अभिलेख संग्रह भाग–२, पृ.१४
- २९. नोली पृ. ५४
- ३०. इतिहास प्रकाश, २–१, पृ.१९०
- ३१. हिमवत्संस्कृति १–१ पृ.४०
- ३२. बृहतसुचीपत्र (वीर पुस्तकालय), नाटक पृ.४४, Medieval History of Nepal-Dr.Regmi, P.21
- ३३. Medieval History of Nepal-Dr.Regmi, P.21
- ३४. Vaisnavism Saivism & Minor Relegious Systems-P.170 from the collected works of r.g. Bhandarkar No. IV
- ३५. Lohare Museum Catlogue of Coins (White Head) Plate, XVII, No.31-33
- ३६. नोली, पृ.९९
- ३७. Medieval History of Nepal-L.Petech, P.84
- ३८. ऐ.पृ.९३
- ३९. बृहतसुचीपत्र (वीर पुस्तकालय), बौद्ध पृ.५१
- ४०. Medieval History of Nepal-Dr.Regmi, Vol.III.P.36
- ४१. हिमाल गिरी–दशनामी सन्यासी–पृ.८९
- ४२. अभिलेख संग्रह भाग–१, पृ.२६
- ४३. नोली पृ. २४
- ४४. सं.स.१–६, पृ.४–५
- ४५. सं.स., पृ. ५–६
- ४६.Medieval History of Nepal- Vol.3 Dr.Regmi, P.31
- ४७. सं.स.,१–६ पृ. ७–८
- ४८. प्रा.डा.जगदिशचन्द्र रेग्मी, उप–प्रा.टि.पि.धमला–नेपालको धार्मिक इतिहास (प्राचीन र मध्यकालिन) पृ.११८, २०७१
- ४९. हिमाल गिरी–शैव, पृ.३४
- ५०. हिमाल गिरी–शैव, पृ.३५
लेखक हिमाल गिरी विभिन्न क्षेत्रमाका विषयमा खाेजअनुशन्धान गर्नुहुन्छ, उहाँका थुप्रै अनुशन्धनात्मक पुस्तक बजारमा आएका छन् ।