नाम्चेबाट संक्रमित प्रहरी कर्मचारीको हेलिकोप्टर मार्फत उद्धार

सोलुखुम्बु :  इलाका प्रहरी कार्यालय नाम्चेमा कार्यरत प्रहरी हवलदारको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । ६ दिन अघि कोरोना संक्रमण पुष्टि भएका आले थरका प्रहरी हवलदारको स्वास्थ्यमा जटिलता थपिएपछि उद्धार गरि काठमान्डौ लगिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक कवित कटवालका अनुसार ४० वर्षीय पुरुष प्रहरी कर्मचारीको स्वासप्रश्वासमा समेत समस्या देखिएको छ । सिम्रिक एयरको हेलिकोप्टर मार्फत उद्धार गरि प्रहरी अस्पताल महाराजगंजमा लगिएको बताइएको छ । जिल्लाबाट संक्रमित प्रहरीको हेलिकोप्टर मार्फत उद्धार गरिएको यो पहिलो हो ।

इलाका प्रहरी कार्यालय नाम्चेमा कार्यरत ६ जना प्रहरी कर्मचारीमा गत शनिबार गरिएको एन्टिजेन परीक्षणका क्रममा एकै पटक कोरोना संक्रमण पुष्टि भएको थियो । त्यहाँ कार्यरत ७ जना प्रहरी कर्मचारी संक्रमित रहेको खुम्बु पासाङल्हामु गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले जानकारी दिनुभयो ।

हाल सम्म जिल्लाबाट २० जना भन्दा बढी कोरोना संक्रमितको उद्धार गरि थप उपचारको लागि बाहिर लगिएको छ । यी मध्ये करिब ८ जनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ ।

मृतकको संख्या १० पुग्यो
हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ । शनिबार बिहान खुम्बु पासाङल्हामु गाउँपालिकाकी एक महिलाको संक्रमणकै कारण ज्यान गएसंगै मृतकको संख्या १० पुगेको हो ।

कोरोना संक्रमण भई होमआईसोलेसनमा बसेका खुम्बु पासाङल्हामु गाउँपालिका–३ की ४६ वर्षीय कार्की थरकी महिलाको आज (शनिबार) बिहान ज्यान गएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले पुष्टि गरेको छ ।

कार्यालयका कोभिड फोकल पर्सन रामकुमार विश्वकर्माका अनुसार गत जेठ २४ गते संक्रमण पुष्टि भएका कार्की होम आईसोलेसनमा बसेका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुको तथ्याङ्क अनुसार हाल सम्म जिल्लामा ९४३ मा संक्रमण पुष्टि भएको छ । ती मध्ये ३०९ जना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका कोभिड फोकल पर्सन विश्वकर्माले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार