हाइटेन्सनमा क्रेनले छुँदा दुई जनाको मृत्यु

सोलुखुम्बु : जिल्लाको सोलु दुधकुण्ड नगरपालिका –८ पत्तालेमा क्रेन बोकेर गुडिरहेको ट्रकमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।

सोलुखुम्बुबाट पोखरा तर्फ जाँदै गरेको ग १ क ५१७३ नम्बरको ट्रकमा राखिएको क्रेनले ३३ केभी प्रशारण लाइनमा छुँदा करेन्ट लागि  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवालले जानकारी दिए ।

मृत्यु हुनेमा ट्रक चालक बडी गंगा गाउँपालिका–५ बाग्लुङ स्थायी ठेगाना भएका वर्ष २६ का भूमिराज मरासिनी र क्रेन चालक स्याङ्जाका अन्दाजी वर्ष २४ का रामबहादुर परियारको घटनास्थलमै मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

आज बिहान ८ः४० बजेको समयमा सोलु खोलामा निर्माणाधिन ८६ मेगावाट हाइड्रोपावरको क्रेन मर्मतका लागि पोखरा लैजादै गर्दा सडकमाथि रहेको प्रशारण लाइनमा छुँदा घटना भएको प्रनाउ कटवालले घटनास्थलबाट जानकारी दिनुभयो ।

यस्तै सहचालक मालिका गाउँपालिका गुल्मिका १८ वर्षीय वसन्त पौडेल र स्याङ्जाका अन्दाजी २४ वर्षीय लिला परियार सामान्य घाइते भएको बताइएको छ । उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल फाप्लु पठाइ अबरुद्ध सडक खुलाउने काम भइरहेको ट्राफिक प्रहरी नारायण बहादुर बस्नेतले जानकारी दिनुभयो ।
सिद्धिचरण लोकमार्गमा पर्ने उक्त सडक क्षेत्रमा नेपाल विद्युत  प्राधिकरणको ३३ केभी प्रशारण लाइन रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार