हेलो मकै !

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : मकै गुणकारी वनस्पति ! यसका अनेकन छन् फाइदा ! कुखुरा परेवालाई चारो दिन सजिलो ! खसीलाई दाना दिन उत्तिकै असल । मकै खा`का खसीको मासु उधुम `टेसिलो´ ! भुटेर खाँदा चमचम हुने। पोलेर खाँदा उत्तिकै रसिलो । झोल हालेर भातसँग सपक्क मुछ्दा कति मिठो मिठो !
गाईभैँसीको दूध फुटेन भने ठुला भाँडामा च्याँख्लैसितको पिठो फत्काउँनुस् । लतत परेको खोले खान दिनुस् । दुई चार दिनपछि आहा ! गाईभैँसीको दूध फुटिहाल्छ । बाख्राका पाठा उत्तिकै सप्रिन्छन् ।
साना पाडालाई बिहान बेलुका पिठाको `पिँडो´बनाएर ख्वाउनुभयो भने पाडो मुस्लेर आउँछ । अनि त उसका भागको दूध पनि आफ्नामा पार्न सकिन्छ । मकैका पात, ढोड पनि गाईबस्तुका लागि मिठो घाँस भित्र पर्छ ।
मकैको बखान गरेर साध्यै छैन । बैगुन भन्ने त यसको केही छैन । गुनैगुन । मानिसको स्वास्थ्यका लागि मकैको भोजन अत्युत्तम मानिन्छ । दाँत हुनेका लागि मकै भट्मासको खाजा अवर्णनीय हुन्छ । फुलैफुल उठेका मकैभट्मास चरप चरप चबाउँदै र भैँसीको आलो मोही(मोई, मही) सुरुप्प पार्दा हुने मिठासताको वर्णन कसले पो गर्न सक्लान् र !
फेरि हेर्नुस् न,दाँत नहुनेका लागि मकैका सातु सारै गतिलो खाजा हुन्छ । चिया होस् वा मोई, पानी होस् वा जाँड जेसित पनि सातु खुल्छ । केटाकेटी र बुढाबुढीका लागि सातु औधी असल ।
धानको चामल, कोदाको पिठो भनेजस्तै मकैको च्याँख्ला ! कसैकसैले च्याँख्लालाई ठेट्ना पनि भन्छन् । (तर,ठेट्नाको अर्थ अर्कै पनि हुन्छ ।) च्याँख्लाको भात हरेक उमेर समुहका मान्छेलाई खान उपयुक्त मानिन्छ ।
नरम हुने, छिटो पच्ने र पोसिलो हुने भएकाले च्याँख्लाको भात सहरतिर पनि लोकप्रिय बन्दै छ । सामान्य तिहुन (तरकारी) सित पनि खान सकिन्छ । साग, मुन्टा,गुन्द्रुक,दाल र फाँडासित उखपात खुल्छ । अमिलो मोईको सोल्लर बनाउने हो भने त झनै स्वादिष्ट हुन्छ च्याँख्लाको भात ।
सिस्नाको तिहुनसित लपलप खाने हो भने तिनचोटि भात नथपी चित्तै बुझ्दैन । कतिभने मासुसित चाहिँ च्याँख्लाको भात खुल्दैन । दही दूध छ भने अर्थोक चाहिँदैन । दूध र पोलेका हरिया मकैको त कुरै नगरौँ । अलौटा मकैको फ्याप्लो नेपाली जिब्राको बेग्लै स्वाद रहेको छ ।
भातजस्तै रोटी पनि खान सकिन्छ मकैको । सुख्का रोटी वा सेलको परिकार बनाउँन सकिन्छ । त्यस्तै मकैका पुवा पनि चलेको खाद्य परिकार हो ।मकैमा कोदो मिसाएर जाँड पकाउँदा पनि राम्रो फाइदा हुन्छ । जाँड बाक्लो र पहेलो देखिन्छ ।
मकैको जाँड पोसिलो पनि हुने र धेरै पनि पर्ने भनेर तत्सम्बन्धीका जानकारहरू बताउँछन् । एक बटुको स्वाट्ट पारेर काममा निस्कँदा जिउ फुर्तिलो हुन्छ भनेर सुनिन्छ । कसैकसैलाई मकैको जाँडले टाउको दुख्ने पनि गर्छ । तर, अधिक जाँड सेवन गर्नु स्वास्थ्यका लागि बेफाइदा हो ।
नेपालमा मधुमेहका बिरामी बढिरहेका छन् । तेस्ता रोगीले कार्बोहाइड्रेडयुक्त खाना खानुहुँदैन ।चिनीयुक्त खानाले रोगीलाई हानि गर्छ । चामलमा बढी कार्बोहाइड्रेड हुने भएकाले चामल कम खानु भनेर चिकित्सकहरू भन्छन् । मकैमा कार्बोहाइड्रेड कम हुन्छ । त्यसैले डाइबिटिजका रोगीले च्याँख्लाको भात खानुपर्छ ।
बद्लिँदो समयचक्रसँगै हाम्रो भान्सामा धेरैजसो “लामा सिता” पाक्ने गरेको छ जुन शरीरका लागि दुर्गुण हुँदै छ । त्यसैले अब मकैजन्य खाद्यपरिकारलाई प्रोमोट गर्नुपर्छ ।
मकैको खेती सजिलो छ । धान खेतीभन्दा सजिलो ! कोदोभन्दा सजिलो । मकैको जात र छर्ने समय सम्बन्धित हावापानीमा फरक पर्छ । औलतिर वैशाखमा छरेर १ सय २० दिन पुगेपछि भित्र्याउन सकिन्छ । लेखतिर बाली पाक्ने अवधि लामो हुन्छ ।
तल्लो क्षेत्रमा लगाइने सठिया जातको मकै त साठी दिनमै पोलेर खान सकिन्छ ।
खेतीमा लगानी कम हुने भएकाले किसानहरूलाई फाइदै हुन्छ । बेरोजगार युवाहरू मकै खेतीमा लाग्नुपर्छ ।
धेरै उत्पादन भए उद्योगहरूमा बेच्न सकिन्छ । मकैको तेलमा कोलेस्ट्रोल कम हुने भएकाले कतिपय मानिसहरू यसैको भुटुन खान्छन् । उच्च गुणस्तरको सुजी पनि मकैबाटै बन्ने हुँदा सर्बत्र माग बढ्दै गएको छ ।
त्यसैले बाँझा खेत, बारी, पाखाहरूमा व्यापक मकै खेती गर्नुपर्छ । खाद्यान्नमा आत्मनिर्भर हुनुपर्छ । “लामा सिता” को बढ्दो संस्कृतिलाई घटाउनुपर्छ ।
स्वदेशमा आयआर्जन गर्न सकिन्छ ।
म सम्पूर्ण महानुभावहरूलाई के अनुरोध गर्छु भने अल्छी गरेर बस्नु हुँदैन । हाम्रो माटो उर्वर छ । गरे यहाँ जे पनि हुन्छ । यही माटामा डलर छ; यसैमा रिङ्गेट छ; यसैमा दिराम छ; यसैमा येन छ; यसैमा रुपये छ;यसैमा टाँका छ; सबै छ; सुनका डल्लैडल्ला छन्, पैसाका बिटैबिटा छन् । हो, पसिनाले माटो भिजाउँनुस् समृद्धि तपाईँको घरमा आफैँ आउँछ ।
लेखक : शम्भुप्रसाद निरौला
                            ठेगाना : थुलुङ दुधकोशी गाउँपालिका ३ पञ्चन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार