थुलुङदुधकोशी गाउँपालिकामा कोभिडका बिरामीको उपचार हुने, निशुल्क गाडीको व्यवस्था

सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशीले जटिल प्रकृतिको लक्षण सहितका कोरोना संक्रमितलाई गाउँपालिकामै सञ्चालित कोभिड अस्पतालमा उपचार गर्ने भएको छ । सोमबार बसेको गाउँकार्यपालिका बैठकले लक्षण सहितका बिरामीलाई कोभिड अस्पतालमा ल्याएर तत्काल उपचार सूरु गर्ने र बिना लक्षणका संक्रमितलाई घरैमा आइसोलेट गरेर राख्ने निर्णय गरेको हो ।

जटिल प्रकृतिको बिरामीलाई उपचार गर्नको लागि १० बेडको अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालनमा रहेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । आवश्यकता अनुसार बेड संख्या समेत बढाउन सकिने उहाँको भनाई छ । संक्रमितलाई घरदेखि अस्पताल सम्म ल्याउनको लागि चार वटा गाडी समेत तयारी अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ ।

नेले विकास समाज र सोलु दुधकोशी हाइड्रोपावरको अक्सिजन सहितको एम्बुलेन्स तथा गाउँपालिका अध्यक्ष आफैले प्रयोग गर्ने गाडी र अन्य एक निजि गाडी समेत बिरामीको लागि प्रयोग गरिने बताईएको छ । उक्त सेवा गाउँपालिकाको तर्फबाट नागरिकको लागि निशुल्क हुने अध्यक्ष राईले बताउँनुभयो ।

यस्तै सामान्य अवस्थाका संक्रमितका लागि मेडिकल किट उपलब्ध गराइने अध्यक्ष राईको भनाई छ । उहाँका अनुसार मेडिकल किटमा पल्समिटर, अक्सिमिटर, डिजिटल थर्ममिटर, सिटामोल, सेनिटाईजर, ग्लोबस्, भिटामिन तथा अन्य आवश्यक औषधी रहने छ । घरैमा आइसोलेट भएर बसेका बिरामीलाई गाउँपालिकाको स्वास्थ्यकर्मीले दैनिक दुई पटक टेलिफोन मार्फत अवस्था बुझ्ने र परामर्श दिनेछन् ।

यस्तै गाउँपालिका बाहिरबाट आएका सबै नागरिकलाई अनिवार्य होम क्वारेण्टिनमा बस्न अनुरोध गर्ने पनि कार्यापालिका बैठकले निर्णय गरेको छ । गाउँपालिकाले जारी गरेको निर्देशन पालन गरेनगरेको अनुगमन गर्ने जिम्मेवारी वडाका सम्पुर्ण जनप्रतिनिधिलाई दिईने गाउँपालिकाले जनाएको छ ।

 ५० प्रतिशत जोखिम भत्ता 

गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई तलबको ५० प्रतिशत जोखिम भत्ता दिने समेत निर्णय गरिएको छ । आजै सम्पन्न कार्यपालिका बैठकले जोखिम मोलेर नागरिकको सेवामा अवरात्र खटिने कर्मचारीलाई जोखिम भत्ता दिने निर्णय गरेको अध्यक्ष राईले बताउँनुभयो ।

यस्तै सोही बैठकले गाउँपालिकाभित्र सञ्चालित ठूला आयोजनासँग रहेका अक्सिजन सिलिण्डर गाउपालिका मातहतमा ल्याउने समेत निर्णय गरेको छ ।

बजार अनुगमनलाई तिब्रता दिईने 
महामारी तथा निषेधाज्ञाको मौकामा महङ्गी तथा कालोबजारी हुन सक्ने भएकाले बजार अनुगमनलाई कडाई गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्र सञ्चालित बजार तथा अन्य पसलहरुमा अनुगमन गरि कम्जोरी पाईएमा कार्वाही गरिने अध्यक्ष राईको भनाई छ । नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्ने छुट कसैलाई नभएको भन्दै अध्यक्ष राईले कानुनी दायरामा ल्याउन स्थानीय सरकार कटिबद्ध रहेको बताउँनुभयो  ।

जिल्लामा निषेधाज्ञा सूरु भएदेखिनै बजार अनुगमनलाई तिब्रता दिएको भन्दै गाउँपालिका स्तरीय अनुगमन समितिका संयोजक एवम् उपाअध्यक्ष सविता राईले एक पटक सबैलाई सचेत गराईएको हुँदा पुनः कम्जोरी पाईएका कानुनु अनुसार कार्वाही गरिने चेतावनी दिनुभयो । स्थानीय सरकार सञ्चालन भएदेखिनै उपभोक्ताको अधिकार प्रति आफुहरु सचेत रहेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार