विदेशी सहित सोलुखुम्बुमा थप १९ जनामा कोरोना संक्रमण

  सोनाम याङ्जी शेर्पा

सोलुखुम्बु : सोलुखुम्बुमा आज एकै दिन थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल फाप्लुमा ११ जनाको एण्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका कोरोना फोकल पर्सन रामकुमार विश्वकर्माले जानकारी दिए ।

कोरोना पुष्टि हुनेहरुमा सोलुदुधकुण्ड नगरपालिका–४ का ३ जना पुरुष र ४ जना महिला गरि ७ जना र महाकुलुङ गाउँपालिका ठेगाना भएका १ जना पुरुष रहेका छन् ।

यस्तै सगरमाथा आधार शिबिर पुगेर फर्केका एक भारतीय नागरिक सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पासाङ ल्हामु निकोलनिकी अस्पताल लुक्लामा मंगलबार उनीहरुको एण्टिजेन परीक्षण गरिएको खुम्बु पासाङ ल्हामु गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले जानकारी दिइन् ।

उहाँका अनुसार कोरोनाको संकास्पद लक्ष्यण देखिएका १४ जनाको एण्टिजेन परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । खुम्बुपासाङ ल्हामु गाउँपालिका ठेगाना भएका १ जना महिला सहित ९ जना पुरुष आधारशिविर सम्म पदयात्रामा रहेका विदेशी पर्यटकको सहयोगीको रुपमा गएको पाईएको संयोजक तामाङको भनाई छ ।

भारतीय नागरिक भने सगरमाथा क्षेत्र भ्रमणमा आएको बताईएको छ । यो सगै सगरमाथा आधारशिबिरबाट फर्किएका २९ जनामा संक्रमण पुष्टि भएको छ । दुई जना विदेशीलाई थप उपचारको लागि काठमान्डौ पठाईएको छ । हाल सम्म जिल्लामा ८३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार