एकैदिन करिब असी आरोहीले चुमे सगरमाथाको शिखर

  सोनाम याङ्जी शेर्पा

सोलुखुम्बु : मंगलबार एकै दिन करिब ८० जना आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पाईला टेकेका छन् । आज बिहान ६ः४० बजेको समयमा बहरायनका राजकुमार शेख मोहम्मद अल खलिफा सहित करिब ८० जनाको टोली सगरमाथाको शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मिरा आचार्यले जानकारी दिनुभयो ।

“राजपरिवारको १६ जना टोली मध्ये १२ जना सहित अन्य करिब ८० जना सगरमाथाको शिखर चुम्न सफल हुनुभएको छ ।” सगरमाथा आधारशिविरमा रहनुभएका विभागका निर्देशक आचार्यले टेलिफोन सम्पर्कमा भन्नुभयो, “आरोहणदलका टोली संग राम्रो टेलिफोन सम्पर्क हुन सकिरहेको छैन त्यसैले यो संख्यामा केही थपघट हुन सक्छ ।”

स्वादेशी तथा विदेशी आरोहीले आज बिहान ५ बजे देखि सगरमाथाको शिखरमा पाईला टेक्न सफल भएको उहाँको भनाई छ । “१३ मे सम्मको मौसम आरोहणका लागि अनुकुल देखिन्छ ।” निर्देशक आचार्यले भन्नुभयो, “यो समय सम्म करिब २०० आरोहीले ८८४८.८८ मिटर उचाईको सगरमाथा आरोहण गरि सक्ने हाम्रो अनुमान छ ।”

वसन्त यामको सगरमाथा आरोहण यहि बैशाख २४ गते देखि शुरु भएको थियो । कीर्तिमानी आरोही कामीरिता शेर्पाको नेतृत्वमा गएको १२ जना शेर्पा टोलीले शिखर जाने बाटो बनाउँदै चुचुरोमा पुगेपछि आरोहण शुरु भएको विभागले जनाएको छ । त्यस पछि यो यामको दोस्रो आरोहण आज भएको हो ।

मन्त्रालयलका अनुसार वसन्त याममा सगरमाथा आरोहणका लागि ४३ समूहका ३१५ पुरुष, ९२ महिला र १ अन्य गरि ४०८ जनाले आरोहण अनुमति लिएका छन् । अधिकांश आरोही अहिले आधारशिविर पुगिसेका छन् भने ती मध्ये पनि धेरै आरोही क्याम्प १, २ हुँदै ३ सम्म पुगेर आरोहणका लागि अनुकुल मौसमको पखाईमा रहेको आधारशिविरबाट पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार