काठमाडौं : कृषि विधेयकविरुद्ध आन्दोलनरत भारतका किसानहरूले आज भारत बन्दको आह्वान गरेका छन् । सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै उनीहरूले देशव्यापी बन्द आह्वान गरेका हुन् ।
किसानहरूले आह्वान गरेको भारत बन्दलाई त्यहाँका २४ राजनीतिक दलहरूले समर्थन गरेका छन् । तर, किसान नेताहरूले आफ्नो आन्दोलनलाई राजनीतिक रङ नदिन आग्रह गरेका छन् । किसान युनियन (क्रान्तिकारी) का अध्यक्ष दर्शनपाल सिंहले सबै राजनीतिक दलहरूलाई धन्यवाद दिँदै भारत बन्दका बेला आफ्ना झण्डा र ब्यानरलाई घरमै छाडेर आउन तथा किसानलाई मात्रै समर्थन गर्न आग्रह गरेका छन् ।
सरकारले ल्याएको कानुन लागु भएपछि थप मर्कामा पर्ने, कृषिजन्य उत्पादनले पर्याप्त मुल्य नपाउने दाबी आन्दोलनरत किसानहरुको रहेको छ । केही महिना अगाडि नै पारित भएको कानुनप्रति किसानहरूले त्यतिबेला देखि नै असन्तुष्टि जनाउदै आएपनि आन्दोलन भने केही समय अगाडिदेखि मात्रै शुरु भएको हो । केन्द्रीय राजधानी नयाँ दिल्लीलाई समेत प्रभावित पार्नेगरी आन्दोलन सुरु भएकाले मोदी सरकार दबाबमा परेको छ ।